काठमाण्डु, २७ जेठ– एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पाँच महिना लामो मौनता तोड्दै सार्वजनिक सञ्चार माध्यममा बोल्ने भएका छन् ।
उनले बुधबार दिउँसो साढे १ बजे ललितपुरको हात्तीवनस्थित निवासमा सञ्चारकर्मी बोलाएर पाँच महिना लामो मौनता तोड्न लागेका हुन् ।
श्रेष्ठले पार्टीको आन्तरिक विषयसहित मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारका कामकारबाही तथा संविधान निर्माणलगायत विषयमा आफ्नो धारणा राख्ने बताए । ‘पार्टीभित्र देखिएको समस्या, राष्ट्रिय राजनीति र मिडियामा किन बोल्न छाडेको थिएँ, अब किन बोल्न लागें भन्ने विषय राख्छु’, श्रेष्ठले काठमाण्डु टुडेसँग भने ।
उनले आफूले भद्र अवज्ञा सुरु गरेको भन्दै पाँच महिनादेखि पार्टीको आन्तरिक कार्यक्रम र दलहरुको बैठकबाहेक सार्वजनिक कार्यक्रममा बोलेका थिएनन् ।
श्रेष्ठले पार्टीभित्र सुविधाभोगी प्रवृत्ति बढेको भन्दै निजी गाडी छाडेर सार्वजनिक यातायातमा यात्रा गर्दै आएका छन् ।