काठमाण्डु , २७ जेठ – सम्पूर्ण मिर्गौला रोगीलाई निःशुल्क रक्त शुद्धीकरण सेवा निरन्तर दिइनुपर्ने माग गर्दै मिर्गौला रोगीहरूले मङगलबारदेखि रिले अनशन सुरु गरेका छन् ।
प्रधानमन्त्री, सभामुख, विभिन्न पार्टी नेता तथा सरोकारवाला सङ्घसंस्थामा पटक पटक ज्ञापनपत्र बुझाउँदासमेत कुनै सुनुवाइ नभएको भन्दै चक्काजाम, धर्नालगायत सङ्घर्षका कार्यक्रम गर्दै आएका पीडितले रत्नपार्कस्थित शान्तिबाटिकामा आजदेखि रिले अनशन सुुरु गरेका हुन् ।
राष्ट्रिय मिर्गौला पीडित सङ्घ नेपालको अगुवाइमा सुरु गरिएको अनशनमा मिर्गौला पीडित चिन्तामणि पोखरेल, लोकेन्द्रबहादुर शर्मा, मदनविक्रम शाह, शावित्री ताम्राकार, सुमित्रा बोहोरा, मेनुका श्रेष्ठ, पूर्णबहादुर ताम्राकार, उद्धव शर्मा, गुणराज राईलगायत करिब २० जना छन् ।
आज बिहान राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई ज्ञापनपत्र बुझाएको जानकारी दिँदै अनशनकारी सङ्घका अध्यक्ष पोखरेलले भने – ‘अध्यक्ष थापाले मिर्गौला पीडितको समस्यालाई आफ्नो पार्टीको घोषणापत्रमा समावेश गरिएको स्मरण गराउँदै ती समस्यालाई संसदमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।’
मिर्गौला पीडितले आर्थिक अवस्था अत्यन्त कमजोर भएका मिर्गाैला रोगीका लागि मिर्गाैला प्रत्यारोपण वा औषधि सेवन महँगो भएकाले सरकारले निःशुल्क उपचार गरिदिनुपर्नेलगायतका सात सुत्रीय माग राख्दै आएका छन् ।