एमालेमा १० भाइको गुट विघटन

काठमाण्डु टुडे २०७८ असोज १४ गते ६:५६ मा प्रकाशित

काठमाण्डु, १४ असोज– आन्तरिक विवाद समाधान गर्न १० बुँदे सहमति गरी विधान महाधिवेशनमा होमिन लागेको नेकपा एमालेभित्रको संगठित गुट विघटन भएको छ ।

नवौं महाधिवेशनमा नेतृत्व चयनका क्रममा फरकफरक प्यानलबाट निर्वाचनमा भाग लिएका नेताहरू अहिले छिन्नभिन्न भएपछि एमालेभित्रको संगठित गुट विघटन भएको हो ।

विधान मस्यौदामा महाधिवेशनमा नेतृत्वका लागि प्यानल बनाएर निर्वाचनमा भाग लिन नपाउने, व्यक्तिमात्रै उम्मेदवार बन्न पाउने व्यवस्था प्रस्ताव गरिएको छ । ‘अध्यक्षसहित सबै पदाधिकारी र सदस्य महाविधेशन वा अधिवेशनबाट निर्वाचित हुने र निर्वाचनमा प्यानल बनाउन बन्देज गर्ने’, विधान मस्यौदामा उल्लेख छ ।

विधानमै प्यानल बनाउन बन्देज लगाउन गरिएको प्रस्ताव विधान महाधिवेशनबाट अनुमोदन भएपछि एमालेमा अब संगठित रुपमा गुटबन्दी नहुने दाबी नेताहरूको छ ।

नवौं महाधिवेशनमा नेतृत्वका लागि केपी  ओली र माधव नेपालले छुट्टा/छुट्टै प्यानल बनाएर निर्वाचन लडेका थिए । नवौैं महाधिवेशनमा नेतृत्वमा पुग्न प्यानल बनाएर निर्वाचनमा गएका कारण पार्टीभित्र समस्या उत्पन्न भएको र त्यसैका कारण विभाजनसम्म पुगेको भन्दै अहिले विधानमै प्यानल बनाउन बन्देज लगाउने प्रस्ताव गरिएको हो ।

नवौं महाधिवेशनपछि एमालेमा दुई लाइन संघर्ष सुरु भएको थियो । त्यसैकारण देशव्यापी रुपमा पार्टी दुई धारमा विभाजित भएको थियो । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us