ओली भन्छन्, ‘म अस्पताल गएका बेला माधव नेपालले युद्धको नियमविपरीत युद्ध घोषणा गरे’

काठमाण्डु टुडे २०७१ जेठ २६ गते १०:४६ मा प्रकाशित

काठमाण्डु ,२६ जेठ– एमाले संसदीय दलका नेता केपी ओलीले आफू उपचारका लागि बैंकक गएका बेला माधव नेपालले युद्ध घोषणा गरेको बताएका छन् ।

kp oli  1राजधानीको भृकुटीमण्डपमा सोमबार भएको आफू पक्षधर कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले युद्धको सामान्य नियमविपरीत नेपालले युद्ध घोषणा गरेको बताए ।

’म बिरामी भएर अस्पताल गएको बेलामा ऐलान गरियो’, ओलीले भने ‘महाभारतको युद्धमा समेत सत्रुलाई जानकारी दिएर युद्धको निम्तो दिइन्थ्यो ।’ उनले बिरामी भएकाले आफूले नेतृत्व गर्न नसक्ने भन्ने नेपाल पक्षको भनाइप्रति आपत्ति जनाए ।

आफू अस्वस्थ भए पनि उग्रवामपन्थ विरुद्धको संघर्षमा विजय प्राप्त गरेको तर स्वस्थ दाबी गर्ने नेताहरुले सम्झौता गरेको उनको भनाइ थियो । ओलीले राजा, काँग्रेस र माओवादी बलियो भएको बेलामा उनीहरुसँग संघर्ष गरेर जित हात पारेको बताए । अर्को एक प्रसंगमा उनले माधव नेपाल र झलनाथ खनाललाई आफूले पार्टीमा ल्याएको दाबी गरे ।

डनवादको खण्डन
ओलीले एमाले पार्टीलाई आफूले वृद्धाश्रम हुनबाट जोगाएको जिकिर गरे । एमाले वृश्राश्रम जस्तो भएका बेला युवा संघ पुनर्गठन गरेर नौजवानहरुलाई पार्टीमा सामेल गराउने काम आफूले गरेको उनले बताए । ‘एमाले वृद्धाश्रमजस्तो भएको थियो’, ओलीले भने, ‘उग्रवाम र अरु गलत काममा लागेका युवालाई एमालेमा ल्याउँदा डन भित्र्याएको आरोप लगाइयो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us