जलवायु परिवर्तनका कारण बाढीपहिरोको जोखिम बढ्यो

काठमाण्डु टुडे २०७१ जेठ २६ गते २:१२ मा प्रकाशित

विराटनगर, २६ जेठ– जलवायु परिवर्तनका कारण अतिवृष्टि, बाढीपहिरो, खडेरीजस्ता जोखिम बढ्दै गएकोप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
विराटनगरमा गत मङ्गलबारदेखि सुरु भएको छदिने जलवायु परिवर्तन समयानुकूलन रणनीतिक तालिम समापनको अवसरमा विज्ञहरुले यस्तो धारणा व्यक्त गरेका हुन् ।

नेपाल जलवायु परिवर्तनका दृष्टिकोणले अति संवेदनशील क्षेत्रमा पर्ने भएकाले मौसम तथा जलवायु परिवर्तनका कारण उत्पन्न हुने घटना न्यूनीकरणका लागि पहल गर्न आवश्यक भएको उनीहरुको भनाइ थियो ।

वातावरण क्षेत्रमा क्रियाशील महेन्द्रमान गुरुङले सम्भावित जोखिम नियन्त्रणका लागि नेपालमा बृहत्तर योजना बनाउन आवश्यक रहेको छ भन्दै उनीहरुले तराइको समथर क्षेत्रमा डुबान समस्या रहेकाले प्राथमिकता दिएर यसलाई नियन्त्रण गर्न आवश्यक रहेको सुझाव दिए । समापन कार्यक्रममा तालिम अवधिभर भएका गतिविधि र मोरङको कोसी हरैचा नगरपालिका–१३ मा गरिएको स्थलगत अध्ययनपछि जलवायु परिवर्तनबाट डुबान समस्या बढ्दै गएको निष्कर्षबारे जानकारी गराइएको थियो ।

विज्ञान प्रविधि तथा वातावरण मन्त्रालय, रुपान्तरण नेपाल, सामूहिक अभियान र गाउा विकास समिति राष्ट्रिय महासङ्घ नेपालद्वारा संयुक्तरुपमा आयोजित तालिममा विराटनगरका सरकारी, निजी र गैरसरकारी संस्थाका गरी ३० जनाको सहभागिता थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us