काठमाण्डु, २५ जेठ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्र जनवादका नाममा सांगठनिक अराजकता बढेको बताएका छन् ।
असन्तुष्ट वरिष्ठ नेता बाबुराम भट्टराई समूहले फरक मतप्रति संस्थापन पक्ष अनुदार रहेको आरोप लगाइरहेका बेला उनको यस्तो भनाइ बाहिर आएको हो ।
ललितपुरको खन्ना गार्मेन्टमा भएको नेवा: राज्यभित्रका जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षणमा उनले सांगठनिक अराजकताले हद नाघ्न खोजेको भन्दै सबैले पार्टीको विधि र पद्धति मानेर अघि बढ्नुपर्ने बताए । उनले नेता बाबुराम भट्टराई पक्षले गठन गरेको भनिएको समानान्तर कमिटीबारे अनुसन्धान भइरहेको उल्लेख गरे ।
भट्टराईले त्यसबारे आफूलाई थाहा नभएको जवाफ दिएको भन्दै उनले कार्यविभाजनको ड्राफ्ट गर्ने सो पक्षका नेतालाई बोलाएर प्रष्टीकरण सोधिने जनाए । समानान्तर कमिटीबारे सञ्चारमाध्ममा समाचार आएपछि भट्टराईले गरेको खण्डनको उनले आलोचना गरे ।
‘बाबुरामजीले पहिला छुट्टै कार्यविभाजनबारे थाहा छैन भन्नुभयो’, प्रचण्डले भने, ‘तर पछि फेसबुकमा जे लेख्नुभयो, त्यो ठीक भएन ।’ नेता भट्टराईले सामाजिक सञ्जालमार्फत पार्टी भित्रकै छट्टु स्याल प्रवृत्तिले फुटको हल्ला चलाएको टिप्पणी गरेका थिए । प्रचण्डले पार्टीमा फरक मत राख्नेलाई पेल्नुको साटो सम्मान गरिएको भन्दै अनर्गल प्रचार नगर्न चेतावनी दिए ।
‘निर्वाचन बहिस्कार गरेकालाई समेत सम्मनपूर्वक विजयी बनाइएको छ’, प्रचण्डले भने, ‘फरक मतलाई पेलिएको होइन, सम्मान गरिएको छ ।’ उनले जनयुद्धको तयारीका बेलाजस्तै उत्पादन र निर्माणको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए ।
वरिष्ठ नेता बाबुराम भट्टराईले आफ्नो विचार तलैसम्म लैजान दिनुपर्ने माग गरे । आफ्नो विचारबारे पार्टीभित्र र बाहिर बहस गर्न दिने सहमतिपछि केन्द्रीय समितिमा बस्ने तयार भएको चर्चा गर्दै उनले पार्टी रुपान्तरणका लागि अन्तरसंघर्ष चलाएको उनको भनाइ थियो । प्रशिक्षणमा काठमाण्डु, ललितपुर र भक्तपुरका गरी करिब डेढ सय जिल्लास्तरीय नेता सहभागी थिए ।
उपाध्यक्ष नारायणकाजी श्रेष्ठले रुपान्तरणका लागि पार्टीभित्रको स्थायी गुटबन्दी भत्काउनुपर्ने बताए । उनले विचार संघर्ष स्वीकार गरिए पनि विचार संगठनका नाममा संगठन बिगार्न नपाइने उल्लेख गरे ।
‘४० वर्षसम्म नेता कार्यकर्ता एउटै स्थायी क्याम्पमा रहने गरेका छन्’, श्रेष्ठले भने, ‘गुटवाद मुर्दावाद ।’ आफू पार्टीमा स्थायी गुट सञ्चालनको पक्षमा नरहेको भन्दै श्रेष्ठले अरुलाई पनि त्यसो नगर्न भने । उनले पार्टीमा बस्ने सबैले अनुशासन पालना गर्नुपर्ने उल्लेख गरे ।