अख्तियारद्वारा क्यान अध्यक्षसहित १८ विरुद्ध मुद्धा दायर

काठमाण्डु टुडे २०७१ जेठ २५ गते ११:०५ मा प्रकाशित

काठमाण्डु, २५ जेठ–  अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष टंक आङबुहाङ सहित १८ जना विरुद्ध  विशेष अदालतमा  आरोपपत्र दायर गरेको छ । क्रिकेट akhtiyarसंघमा ब्यापक भ्रष्टाचार भएको उजुरी छानबीनपछि अख्तियारले १ करोड ४३ लाख १४ हजार बिगो दावी सहित आरोपपत्र दायर गरेको हो ।

अख्तियारले क्यानका अध्यक्ष टंक आङवुहाङ लिम्बू, उपाध्यक्षहरू चतुरबहादुर चन्द, सुनिलमान अमात्य र विनोदकुमार मैनाली, महासचिव अशोकनाथ प्याकुरेल, कोषाध्यक्ष राजुबाबु श्रेष्ठ, सदस्यहरू किरण शमसेर राणा, ठाकुरप्रताप थापा, ठाकुरप्रसाद पहाडी र पूर्णबहादुर लामा, राष्ट्रिय खेलकुद परिषदका ईन्जिनियर अरुण उपाध्यायविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

‘पदाधिकारीहरूसमेतको मिलेमतोमा मुलपानीस्थित क्रिकेट मैदान एवं भवन निर्माणका लागि नेपाल सरकार तथा विदेशी संघ संस्थाबाट प्राप्त अनुदान रकम, खेलकुद सामाग्री खरिद, असम्बन्धित व्यक्तिहरुलाई संघको खर्चमा बिदेश पठाउने समेतका कार्य गरी अनियमितता एवं भ्रष्टाचार गरेको भन्ने उजुरीका’ आधारमा आरोपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

यसैगरी अख्तियारले गौरा कन्सट्रक्सन प्रा.लि.का सञ्चालक सूर्य अधिकारी, आर कोमल कन्सट्रक्सनका सञ्चालक रामशरण देउजा, नव निर्माण कम्पनीका सञ्चालक कृष्णप्रसाद पाण्डे, क्राउन नेपाल कन्सट्रक्सन एण्ड डेभलपमेन्ट प्रा.लि.का सञ्चालक पवन पाठक, खड्का कन्सट्रक्सन प्रा.लि.का सञ्चालक राजकुमार खड्का, डिजाइन शेल आर्किटेक्ट्सका निर्देशक उमेशमान श्रेष्ठ र सिफन ईन्जिनियरिङ कन्सल्टेन्सीका ईन्जिनियर छविलाल अधिकारीविरुद्ध १ करोड ४३लाख १४ हजार पाँच रूपैयाँ ९१ पैसा बिगो र जरिवाना क्यानलाई दिलाउन आरोप पत्र दायर गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us