काठमाण्डु, २२ जेठ– आगामी असार ८ गते हुने संविधानसभाको उप निर्वाचनको मिति नजिकिँदै जाँदा कैलाली निर्वाचन क्षेत्र नं ६ मा राजनीतिक दलहरूले आ–आफ्नो दलका उम्मेदवारलाई विजयी बनाउन प्रचार प्रसारलाई तीव्र बनाएका छन् ।
प्रचण्ड गर्मीको परवाह नगरी दलका नेता तथा कार्यकर्ताहरू दिनभरि नै प्रचार प्रसारमा जुटेका छन् । टोलटोलमा चुनावी भेला र सभा पनि भइरहेका छन् । उप–निर्वाचनमा पहिलो पटक विद्युतीय मेसिनद्वारा मतदान गर्ने व्यवस्था गरिएकाले दलहरूले प्रचार प्रसारका अलावा मतदातासमक्ष विद्युतीय मतदानबारे पनि जानकारी दिने गरेका छन् । काँग्रेस, एमाले, राप्रपा नेपाल, एमाओवादी, फोरम लोकतान्त्रिकका उम्मेदवारको प्रचार प्रसार अन्य दलका उम्मेदवारभन्दा बढी देखिने गरेको छ ।
विगतका निर्वाचनमा जस्तो चुनावका बेला देखिने पर्चा, पम्ल्पेट, वाल पेन्टिङजस्ता गतिविधि भने अहिले देखिएको छैन । कैलाली क्षेत्र नं ६ मा १५ जना उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुने भए पनि मुख्य प्रतिस्पर्धा भने नेपाली काँग्रेस, नेकपा (एमाले), राप्रपा नेपाल, एनेकपा माओवादी र फोरम लोकतान्त्रिकका उम्मेदवारबीच नै हुने स्थानीय मतदाताले बताएका छन् ।
काँगे्रसले पूर्व राज्य मन्त्री एवम् युवा नेता पुष्करनाथ ओझा, एमालले महेश्वर पाठक, राप्रपा नेपालले राजेश भण्डारी, एमाओवादीले सुन्दरराज रेग्मी र फोरम लोकतान्त्रिकले लक्ष्मण थारुलाई प्रत्यासी बनाएको छ ।