
चीन, २२ जेठ – दुई दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री सुशील कोइराला कुनमिन पुगेका छन् । विशेष विमानबाट त्यहाँ पुगेका प्रधानमन्त्रीसहितको नेपाली प्रतिनिधिमण्डललाई विमानस्थलमा यूनान प्रान्तका उप गर्भनर गाओ सेन्भले स्वागत गरेका थिए । त्यसपछि प्रधानमन्त्रीलाई सिधै होटल ग्राण्ड प्लाजामा लगिएको थियो । उनलाई त्यही रहेका बाणिज्य मन्त्री सुनिल थापा र चिनियाँ राजदुत महेश मास्केले पनि स्वागत गरेका थिए ।
भोलीबाट सुरु हुने दोस्रो चाईना साउथ एसिया एक्सपोजिसन तथा २२ औ चाईना कुनमिन ईम्पोर्ट एक्सपोर्ट कमोडिटिज फेयरको प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीसँग आज बेलुका युनान प्रान्तका गर्भनर लिग जिहेङले द्धिपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । आजै गर्भनरले गरेको रात्रीभोजमा सहभागी हुने कार्यक्रम रहेको छ ।
कोइराला शुक्रबार सोही विमानमा स्वदेश फर्कने छन् । प्रधानमन्त्रीको भ्रमण टोलीमा वाणिज्यमन्त्री सुनील थापा, सचिव नारायणगोपाल मलेगो, परराष्ट्रका निमित्त सचिव शंकर बैरागी, शिष्टाचार महापाल कालीप्रसाद पोखरेल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार दिनेश भट्टराई र आर्थिक सल्लाहकार चिरञ्जीवी नेपाललगायत छन् ।
यस्तै भ्रमणमा विभिन्न दलका सभासदसमेत सहभागी हुनेछन् । टोलीमा राष्ट्रपतिपुत्र चन्द्रमोहन यादव, एमाले नेता वाचस्पति देवकोटा, एमाओवादी उपाध्यक्ष पोस्टबहादुर बोगटी, फोरम गणतान्त्रिका सभासद रामजनम चौधरी, माले महासचिव सीपी मैनाली, सभासदहरु राधा तिमिल्सिना, रुक्मिणी चौधरी, अभिषेकप्रताप शाह, भाष्कर भट्टराई, रामकुमार राई, प्रेमबहादुर सिंह, हरिशचन्द साहलगायत छन् ।