उपेन्द्र यादव सरकारमा जाँदै

काठमाण्डु टुडे २०७८ साउन ३ गते ७:२७ मा प्रकाशित

काठमाण्डु, ३ साउन– राष्ट्रिय जनता पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव समूहको संसदीय दलको बैठकले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

जसपाको तत्काल कायम रहेको सांसद सङ्ख्याको बहुमत सांसद सहभागी संसदीय दलको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो ।  जसपाका कार्यकारिणी सदस्य एवम् सांसद मोहम्मद इस्तियाक राईले पार्टीको तत्काल कायम  ३२ सांसदमध्ये १९ जनाको उपस्थितिमा सम्पन्न  बैठकले सत्ता पक्षको बेञ्चमा बस्ने निर्णय गरेको जानकारी दिए ।

उनका अनुसार न्यूनतम साझा कार्यक्रमका आधारमा पार्टीका मुद्दालाई उठाएर सरकारमा सहभागी जनाइने बैठकले निर्णय गरेको छ। पुनस्र्थापित प्रतिनिधिसभाको बैठक आइतबार अपराह्न बस्दैछ । जसपाको पार्टी आधिकारिकताको विवाद निर्वाचन आयोगमा टुङ्गो लागेको छैन ।

आयोगले आइतबारदेखि पार्टीको विवादका सम्बन्धमा गठन गरेको इजलासबाट छलफल हुने र तीन दिनभित्र निर्णय आउने जनाइएको छ। जसपा यादव समूहको आजको बैठकमा १७ सङ्घीय सांसद र तीन राष्ट्रियसभाका सदस्य गरी १९ सदस्य सहभागी भएको सांसद राईले बताए ।

जसपाको दुवै सदनका सांसदको सङ्ख्या ३५ छ । सङ्घीय सांसद ३२ र राष्ट्रियसभामा तीन सांसद छन् । पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरका पक्षका केही सांसद पनि यादव पक्षमा आएको जनाइएको छ । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us