
झापा, १८ जेठ– प्रतिपक्षी दलहरुले सरकारविरुद्ध एकजुट भएर संसद बैठक अवरुद्ध गरिरहेकै बेला सत्ता साझेदार एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको कार्यशैलीप्रति तीव्र असन्तोष व्यक्त गरेका छन् ।
आसन्न नवौं महाधिवेशनका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेको एक दिनपछि आइतबार अध्यका अर्का प्रत्यासी केपी शर्मा ओलीको गृह जिल्ला झापा पुगेका नेपालले सरकारको कामबारबाहीबारे असन्तुष्टि जनाएका हुन् ।
ओली पक्षीय उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा एमाले सुशील कोइराला नेतृत्वको वर्तमान सरकारमा सहभागी छ । उनले सरकारले २६ जना सभासदको मनोनयन तथा विभिन्न देशमा राजदूतहरु र संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्त गर्न नसकेको भन्दै असन्तुष्टि जनाए ।
‘२६ सभासदको मनोनयन भएको छैन, राजदूत नियुक्ति हुन सकेको छैन, संवैधानिक निकाय खाली छन्’, नेपालले भने, ‘त्यसमा मानिसहरु पठाउने काम भइरहेको छैन ।’ नेपालले सरकार संयुक्त सरकारको मान्यताविपरीत चलेको आरोप लगाए ।
‘सरकारको काम सन्तोषजनक छैन’, नेपालले भने, ‘यो गतिले देश अगाढि बढ्न सक्दैन ।’ सरकार नीति तथा कार्यक्रम अनुसार नचल्दा र अधिकांश मन्त्रालयमा बेथिति बढ्दासमेत पार्टीका तर्फबाट सरमारमा सहभागी मन्त्रीहरु नै मुकदर्शक भएर बसेको उनको टिप्पणी छ ।