प्रेस युनियन काठमाण्डु अध्यक्षमा अर्याल (मतपरिणामसहित)

काठमाण्डु टुडे २०७१ जेठ १८ गते ७:४१ मा प्रकाशित

काठमाण्डु, १८ जेठ – पत्रकारको संस्था नेपाल प्रेस युनियन, काठमाडौँ शाखाको कार्यसमितिका लागि आइतबार भएको निर्वाचनमा अध्यक्षमा १०६ मत ल्याई नकुल अर्याल विजयी भएका छन् ।

press unionअर्यालका निकटतम प्रतिद्वन्द्वी सङ्गम बानियाँले १०३ र अर्का उम्मेदवार जीवन भण्डारीले ९६ मत प्राप्त गरेका थिए । त्यसैगरी कार्यसमिति सदस्यमा पुष्पा शर्मा १८८, अर्जुन अधिकारी १७०, लक्ष्मी सापकोटा १६१ मत, अक्कलबहादुर कुँबर १४९ मत, सुदीप रेग्मी ११८ र अच्युत रेग्मी ११५ मत प्राप्त गरी विजयी भएका प्रमुख निर्वाचन अधिकृत कृष्णप्रसाद पनेरुले जानकारी दिए ।

छ सदस्यका लागि १४ जनाले उम्मेदवारी दिएका थिए । उपाध्यक्षमा देवी सापकोटा, सचिवमा महेश्वर गौतम र कोषाध्यक्षमा भागवत भट्टराई शनिबार निर्विरोध निर्वाचित भइसकेका छन् । काठमाडौँ शाखामा ४१२ साधारण सदस्य रहेको भए पनि आजको निर्वाचनमा ३१२ मत खसेको थियो ।

तेह्र सदस्यीय कार्यसमितिका लागि १० जनाको निर्वाचन भएको र बाँकी तीन सदस्य मनोनयन हुने व्यवस्था रहेको काठमाडौँ युनियनले बताएको छ । जिल्ला कार्यसमितिबाट निर्वाचित हुने केन्द्रीय पार्षदका लागि सहमतिका आधारमा शनिबार नै आवेदन जम्मा गरिसकिएको र एक दुई दिनमै छानबिन गरी सूची तयार पारिने कार्यवाहक अध्यक्ष बद्री सिग्देलले जानकारी दिए ।

युनियनको विधानमा केन्द्रीय पार्षद् छनोटका लागि महिलाको हकमा तीन सदस्य बराबर एक र पुरुषको हकमा पाँच सदस्य बराबर एक केन्द्रीय पार्षद छनोट हुने प्रावधान छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us