गोरखामा भालु आतंक

काठमाण्डु टुडे २०७१ जेठ १८ गते ३:५६ मा प्रकाशित

गोरखा, १८ जेठ– उत्तरी गोरखामा पछिल्लो समय भालु आतङ्क बढेको छ ।
वर्षभरिमा एक बालीमात्रै उत्पादन हुने उत्तरी गोरखाका सिर्दीवास, चुम्चेत, ल्हो, सामागाउँ, प्रोक, विही र छेकम्पारमा भालु आतङ्क बढेको हो ।

खेतीयोग्य जमिन कम भएको र लगाइएका बालीनाली भालुले खाइदिँदा यहाँका किसान चिन्तित भएका छन् ।
जङ्गली जनावरले बली खान थालेपछि यहाँका कतिपय किसानले खेती गर्न नै छाडेका छन् । किसानका घरघरै भालु र लङ्गुरे बाँदर आउन थालेपछि घरैमा भएको अन्नसमेत जोगाउन किसानलाई हम्मे परेको प्रोकबाट दोर्जे ठकुरीले बताए ।
यस क्षेत्रमा मुख्य खेतीका रूपमा आलु र मकै रहेको छ । सँगै करु, गहुँ, फापर, सिमी, केराउ, भट्टमास खेती पनि हुने गर्दछ ।

भालुले खेतीलाई मात्र नभई घरैमा पालिएका चौंरीलाई समेत आक्रमण गर्ने गरेको स्थानीयले बताएका छन् । वनजङ्गल जोगाउनु वातावरणीय दृष्टिकोणले राम्रो भए पनि खेती जोगाउन नसकेपछि किसान थप मारमा परेका छन् ।

यहाँ ३० केजी चामलको मूल्य पाँच हजार पर्दछ । यहाँ उत्पादन राम्रो हुने गरे पनि उत्पादनले एक महिनालाई मात्र पुग्दछ । भएको थोरै उत्पादनमा समेत भालु र बाँदरले क्षति पुर्‍याउँदा किसान मर्कामा परेका हुन् । जङ्गलमा चौंरी चराउन लैजाँदा भालुले लखेट्ने र मार्ने गरेको स्थानीय घ्युर्मे छिरिङ लामाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us