
काठमाण्डु , जेठ १६ – अन्तर्राष्ट्रिय अहमदिया मुस्लिम समुदायको भातृसंस्था अहमदिया संघ नेपालको आयोजनामा शनिबार एक दिवसीय विश्व शान्ति सम्मेलन आयोजना हुने भएको छ ।
रिपोर्टर्स क्लब नेपालमा शुक्रबार पत्रकार सम्मेलन गर्दै अहमदिया संघले दया र धर्मका माध्यमबाट सामाजिक सद्भाव कायम गर्दै जातीय विभेद र धार्मिक असहिष्णुताको अन्त्य गरेर समस्त मानवजातिबीच एकता र सद्भाव कायम हुनुपर्छ भन्ने उद्देश्यका साथ यो सम्मेलन आयोजन ागर्न लागेको बताएको छ ।
जेठ १७ गते शनिबार उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यमा त्रिपुरेश्वरस्थित् वल्र्ड ट्रेड सेन्टरमा आयोजना हुने एक दिवसीय विश्व शान्ति सम्मेलनको सम्पूर्ण तयारी भइसकेको जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै संघका संस्थापक अध्यक्ष अताउर्र रहमान् खालिद्ले धार्मिक असहिष्णुता तथा संकीर्ण सोचका कारण विश्वमा बैमन्यस्ता, अशान्ति, बेमेल र झै–झैगडा भएकोले धार्मिक सम्प्रदायिक दंगा मच्चिएको भन्दै यस्तो असहज परिस्थितिको अन्त्यका लागि भगवान गौतम बुद्धको जन्मभुमि तथा शान्तिक्षेत्र नेपालबाट शान्तिको सन्देश विश्वभर फैलाउन विश्व शान्ति सम्मेलन आयोजना गरेको बताएका छन् ।
उनले भने–सम्पुर्ण मानवमा दया र सहयोगका भाव जागृत गर्नको लागि पनि यो सम्मेलनले सवैलाई सहयोग पुग्ने छ । अन्तर्राष्ट्रिय अहमदिया मुस्लिम समुदायका प्रचारप्रसार प्रमुख एवम् भारतका प्रतिनिधी मोहम्मत जहिर खादिम्ले विश्वका मानव सवै एक भएको भन्दै सँधै माया र सद्भाव राखे विश्वमा शान्ति सधै अमर रहने बताउँदै यस्तो खाले सम्मेलनले मानवीय हृदयमा सच्चा मानवीय सहानुभुति र परोपकारको भावना उत्पन्न भएर विभिन्न धर्म, समुदाय र जातजातिकाबीचमा प्रेम, सद्भाव र धार्मिक एकता हुने विश्वास व्यक्त गरे ।
संघका केन्द्रिय उपाध्यक्ष मोहम्मत स्माइलले विश्व सम्मेलनमा अन्तर्राष्ट्रिय अहमदिया मुस्लिम समुदायका आध्यात्मिक प्रमुख हजरत मिर्जा मसरुर अहमदद्धारा लिखित विश्वप्रसिद्ध पुस्तक वल्र्ड क्राईसीस एण्ड द पाथवेय टु पीस नामक पुस्तक पनि निशुल्क वितरण गरिने जानकारी दिए ।
संघले उक्त कार्यक्रममा नेपाल सरकारका मन्त्रीहरु, नेपालस्थित् विभिन्न देशका राजदुतहरु, विभिन्न देशका हिन्दू, मुस्लिम, बौद्धमार्गी, जैन, शिख तथा क्रिश्चियन धर्मगुरुहरुका साथै राजनीतिक दलका नेता, नागरिक समाजका अगुवाहरु, बुद्धिजीवी तथा लब्धप्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहने पनि जानकारी दिएका छन् ।