आज सातौं गणतन्त्र दिवस

काठमाण्डु टुडे २०७१ जेठ १५ गते १:४४ मा प्रकाशित

काठमाण्डु, १५ जेठ– सातौं गणतन्त्र दिवस  आज देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।
ganatantraगणतन्त्र दिवस मूल समारोह समितिले राजधानीको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरेको छ । सरकारले साँझ देशभर सबैका घरघर, कार्यालय, व्यापारिक प्रतिस्ठानलगायतमा दिपावली गर्न आग्रह गरेको छ ।

दुई सय ४० वर्ष लामो शाही राजतन्त्र अन्त्य भएको आज ६ वर्ष पूरा भएको छ । अघिल्लो संविधानसभाको पहिलो बेठकले २०६५ साल जेठ १५ गते आजैका दिन राजतन्त्रको विधिवत अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो ।

राजनीतिक रुपमा गणतन्त्र स्थापनालाई महत्वपूर्ण उपलब्धी ठानिए पनि जनताको जनजीवनमा खासै परिवर्तन ल्याउन नसकेको गुनासो बढेको छ । यही परिस्थितिको फाइदा उठाएर जनआन्दोलनमा पराजित भएको शक्तिले राजतन्त्र पुनस्र्थापनाको नारा अघि सारेको छ ।

गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामवरण यादवसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताले शुभकामना दिएका छन् ।  राष्ट्रपति यादवले सातौं गणतन्त्र दिवस २०७१ का अवसरमा दिएको शुभकामना सन्देशमा नयाँ संविधानसभाबाट हाम्रा लागि हामीले नै संविधान जारी गर्ने हो भन्दै राजनीतिक दलहरुले कबुल गरेकै समयावधिभित्र नयाँ संविधान निर्माण गर्नुको विकल्प नरहेको बताएका छन् ।

‘सात वर्षदेखि बाटो हेरिरहेका जनता अब वाचा र आश्वासन होइन, नयाँ संविधानको प्रतीक्षामा छन्’, राष्ट्रपतिको सन्देशमा भनिएको छ । उनले समयमै संविधान बन्न नसक्दा राष्ट्रको मनोवलमा प्रतिकूल असर पर्न गएको तथ्यप्रति सबैको ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री सुशील कोइारालाले स्वदेश तथा विदेशमा रहेका समस्ता नेपाली दाजुभाई तथा दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । राज्यको सम्पूर्ण शाक्ति नागरिकहरुमा निहित गराउने यस्तो ऐतिहासिक उपलब्धी हासिल भएको यस शुभअवसरमा ज्यानको बलिदान दिने सहिदहरुप्रति उनले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

संविधानसभाको दोश्रो निर्वाचनमार्फत जनताले हालसम्मका बलिदानीपूर्ण आन्दोलनबाट हासिल भएका उपलब्धीहरुलाई संस्थागत गर्ने संविधान बनाएर त्यही प्रजातान्त्रिक संविधानमार्फत आर्थिक समृद्धि हासिल गर्ने जिम्मेवारी दिएको भन्दै आफ्नो नेतृत्वको सरकारले जनताको उक्त विवेकपूर्ण जनादेशलाई आफ्नो नेतृत्वको संयुक्त सरकारले राम्रोसँग आत्मसात गरेको प्रधानमन्त्रीको सन्देशमा छ ।

यस्तै एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र दिवसका अवसरमा दिएको शुभकामना सन्देशमा गणतन्त्र स्थापनाको ६ वर्ष बिते पनि संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत नहुने हो कि भन्ने खतरा नटरेको उल्लेख गरेका छन् ।
पहिलो संविधानसभाको दुखद् अवसानले गणतन्त्र संस्थागत गर्ने महान अभियानमा धक्का पुगेको प्रचण्डले उल्लेख गरेका छन् । ‘गणतन्त्रको रक्षा र सुदृढीकरणको अर्थ छिटोभन्दा छिटो नयाँ संविधानको लेखन बनेको छ’, प्रचण्डको सन्देशमा भनिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us