भागरथी हत्या प्रकरण: आरोपी र मृतकको स्वाबमा भेटिएको डीएनए मिल्यो

काठमाण्डु टुडे २०७७ चैत १२ गते १४:०५ मा प्रकाशित

बैतडी, १२ चैत– भागरथी हत्या प्रकरणका आरोपित दिनेश भट्टको डीएनए मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनएसँग मिलेको छ । केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, सामाखुशीमा गरिएको परीक्षणबाट डीएनए मिलेको पाइएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मुकेश सिंहका अनुसार जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टमका क्रममा डीएनए परीक्षणका लागि भजाइनल स्वाब निकालिएको थियो । स्वाबबाट प्राप्त नमूना मिलेसँगै प्रकरणको अनुसन्धान थप बलियो बनेको सिंहले बताए ।

प्रहरीले घटनामा भट्टको संलग्नता देखिएको भन्दै ४ फागुनमा उनलाई पक्राउ गरेको थियो । त्यसवेला उनले प्रहरी, परिवार र सरकारी वकिलसँग अभियोग स्वीकारेका थिए । उनलाई २६ फागुनमा जिल्ला अदालत, बैतडीले पुर्पक्षका लागि दिपायलस्थित सुधार गृह पठाउन भनेको थियो । सुधार गृहमा रहेका वेला उनले आफू घटनामा संलग्न नरहेको बयान दिएको विवरण सार्वजनिक भएको थियो ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७, चुडेपानीकी भागरथी २२ माघमा घरबाट विद्यालय गएकी थिइन् भागरथी फर्किएर आउन पाइनन् । २३ माघमा उनको शव खोचलेक क्षेत्रमा रहेको लवलेक जंगलमा भेटिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us