नयाँदिल्ली, १२ जेठ– प्रधानमन्त्री सुशील कोइरालाले भारतका निवर्तमान प्रधानमन्त्री डा. मनमोहन सिंहलाई भेटेका छन् ।
सिंहले सरकारी निवास छाड्नुअघि कोइरालाले सेभेन रेसकोर्स रोडस्थित निवासमा उनलाई भेटेका हुन् । भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
भेटमा कोइराला र सिंहबीच नेपालमा जारी संक्रमणकाल अन्त्य, संविधान निर्माण, स्थायित्व र विकासका विषयमा छलफल भएको नयाँदिल्लीमा रहेका रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले टेलिफोनमा काठमाण्डु टुडेलाई बताए ।
भेटमा सहभागी मन्त्री विमलेन्द्र निधिलाई उद्धृत गर्दै धमलाले निवर्तमान प्रधानमन्त्री सिंहले नेपालमा छिट्टै संविधान जारी होस् भन्ने चाहना व्यक्त गरेको बताए । सिंहले भारतमा हालै आएको निर्वाचन परिणाम र सत्ता परिवर्तनले नेपाल नीतिमा कुनै तात्विक अन्तर नआउनेमा कोइरालालाई आश्वस्त तुल्याउने कोसिस गरेका थिए ।