
खोटाङ, ३ चैत– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा ९ वटा कार्यक्रम एकैसाथ उद्घाटन गरिएको छ । वडा कार्यालय, स्वास्थ्यचौकी, चम्पावती मावि र महिला समूहको भवन तथा कम्प्युटर ल्याब, सरस्वती मन्दिर, विद्यार्थीका लागि नियमित वितरण गरिने दिवाखाजा तथा टिफिन क्यारी र छात्राका लागि स्यानिटरी प्याडसहित नौ कार्यक्रम उद्घाटन गरिएको हो ।
नवनिर्मित विद्यालय भवनभित्र स्थापना गरिएको कम्प्युटर ल्याब र साइन्स ल्याब स्थापना गरिएको छ भने विद्यालयको प्राङ्गणमा सरस्वती मन्दिर स्थापना गरिएको छ । महिला सामुदायिक भवन निर्माणका लागि विभिन्न निकायबाट विभिन्न समयमा गरी रु पाँच लाख प्राप्त भएको वडा सदस्य मनिषा खनालले बताए।
वडा कार्यालय भवन निर्माणका लागि वडाध्यक्ष ढकालले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए । यस्तै स्वास्थ्यचौकी भवन निर्माणका लागि चन्द्रकुमारी पोखरेलले पनि पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको वडा कार्यालयले जनाएको छ ।
नगरपालिकाले विजयखर्कमा एकैसाथ आयोजना गरेको नौवटा कार्यक्रमको उद्घाटनमा स्थानीय बासिन्दाको समेत उल्लेख्य उपस्थिति थियो । जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकारलगायत सहभागी कार्यक्रममा स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुतिसमेत रहेको थियो ।
भौतिक पूर्वााधार निर्माणमा सबैभन्दा अगाडि देखिएको उक्त वडामा सम्पूर्ण सुविधासहितका नयाँ भवन निर्माण सम्पन्न गरेर सञ्चालनमा आएपछि स्थानीय सरकारको अनुभूति भएको स्थानीय बासिन्दाले बताएका छन् । पन्ध्र वडा रहेको यस नगरपालिकामा यस वर्ष भौतिक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिइएको छ ।
जिल्लाको १० स्थानीय तहमध्ये सबैभन्दा ठूलो यो नगरपालिकामा यस वर्ष १५ मध्ये ११ वटा वडामा एउटै किसिमको भवन निर्माण भइरहेको छ । एउटा वडाका लागि रु ७० लाखका दरले बजेट विनियोजन गरिएको छ । एउटै किसिमको सबै वडा कार्यालय भवन यही चैत मसान्तभित्र सम्पन्न हुने नगरप्रमुख रिजालले बताएका छन् । नगरपालिकामा निर्माणाधीन वडा कार्यालय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।