सिविनको हेल्पलाइनले दियो किटानी जाहेरी

काठमाण्डु टुडे २०७७ चैत २ गते १४:५७ मा प्रकाशित

काठमाण्डु, २ चैत– ललितपुरको बाग्मती गाउँपालिका–७, गिम्दीमा पढ्दै गरेकी १५ वर्षीया बालिकालाई करणी गरेको आरोपमा पक्राउ परेका व्यक्तिविरुद्ध किटानी जाहेरी परेको छ ।

बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था सिविनको हेल्पलाइनले संरक्षकका रुपमा किटानी जाहेरी दिएको हो । पक्राउ परेका व्यक्तिलाई अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइएको थियो ।

प्रहरी परिसर, ललितपुरकी एसएसपी किरण बज्राचार्यका अनुसार जाहेरीपछि करणी सम्बन्धी कसुरमा विस्तृत अनुसन्धन थालिएको छ । बालिकाको प्रारम्भिक स्वास्थ्य परीक्षणले उनी गर्भवती भएको खुलिसकेको छ ।

तर दबावका कारण बालिकाले प्रहरीमा जाहेरी नदिएको भनिएको छ । ‘पीडितलाई अहिले काउन्सिलिङका लागि एउटा संस्थामा राखेका छौं’, बज्राचार्यले भनिन्, ‘प्रहरी अनुसन्धान जारी छ ।’

पक्राउ परेका व्यक्ति करणीमा परेकी बालिकाको आफन्त भएकाले प्रहरीले परिचय गोप्य राखेको छ । बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलन धरेलले पनि सिविनबाट जाहेरी दिएर कानुनी प्रक्रिया अघि बढाउने निर्णय बताएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us