काठमाण्डु, १२ – सर्वाेच्च अदालतका लागि न्यायपरिषद्ले सिफारिस गरेका आठ न्यायाधीशमध्ये कसलाई अनुमोदन गर्ने भन्नेबारे संसदीय सुनुवाई विशेष समितिले आज निर्णय गर्दैछ ।
त्यसका लागि आज विशेष समितिको बैठक बस्दैछ । सिंहदरबारमा दिउँसो बस्ने बैठकले कसकसलाई अनुमोदन गर्ने भन्नेबारे निर्णय लिने समिति सदस्य रवीन्द्र अधिकारीले जानकारी दिए ।
समितिले आठ मध्ये शुक्रबार र शनिबार दुई/दुई तथा आइतबार चार जनाको सुनुवाइ गरेको थियो । सुनुवाइका क्रममा सभासदहरुले प्रस्तावित न्यायाधीशलाई अधिकांश व्यक्तिगत चरित्र, भ्रष्टाचार र न्याय सम्पादनमा हुने गरेका ढिलासुस्ती जस्ता विषमा प्रश्न गरेका थिए ।
स्रोतका अनुसार समितिमा विवाद भए पनि अधिकांश प्रस्तावित न्यायाधीश नियुक्त हुने सम्भावना छ । ७२ सदस्यीय समितिका एक तिहाईले समर्थन गरे पनि न्यायाधीश नियुक्ति हुने प्रावधान छ ।