सोमबार बस्ने गरी सकियो माओवादी केन्द्रको बैठक

काठमाण्डु टुडे २०७७ चैत १ गते १५:४६ मा प्रकाशित

काठमाण्डु, १ चैत– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक भोलि फेरि बस्ने गरी सकिएको छ।
आइतबार पार्टी कार्यालय पेरिसडाँडामा झन्डै ४ घन्टा बसेको बैठकमा विभिन्न प्रदेशका नेताहरूले आफ्नो प्रदेशको अवस्थाबारे रिपोर्टिङ गरेका थिए।

प्रदेश १ बाट सावित्री भुषाल, २ बाट विश्वनाथ साह, बागमतीबाट नारायण दाहाल, गण्डकीबाट हितराज पाण्डे, लुम्बिनीबाट ओनसरी घर्ती, कर्णालीबाट माया शर्मा र सुदूरपश्चिमबाट नेपबहादुर चौधरीले रिपोर्टिङ गरेका थिए । उनीहरू एक भइसकेको पार्टी फेरि विभाजन भएपछि पूर्वमाओवादी केन्द्रका नेताहरू एमालेमा गएकाले आफ्नो पार्टीलाई घाटा भएको बताएका थिए।

केहीले भने अझै पनि सम्भावना रहेको र वृहत ध्रुवीकरण गरेर सबै माओवादीलाई समेटेर जानु पर्ने बताएका थिए। बैठकमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्ड ले नेकपा एकतालाई खारेज गर्ने सर्वोच्च अदालतको फैसला समस्या भएको बताए ।

नेता नारायणकाजी श्रेष्ठले केपी शर्मा ओलीलाई सरकारबाट बहिर्गमन गर्नु अनिवार्य भएको बताए । आजको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे भने निर्णय गरेको छैन ।  बैठक भोलि बिहान ११ बजे फेरि पेरिसडाँडामा  बस्नेछ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us