ओली फाल्न तयार भयो जसपा

काठमाण्डु टुडे २०७७ फागुन २९ गते १२:४६ मा प्रकाशित

काठमाण्डु, २९ फागुन– काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्ने सहमति भएको छ ।
माओवादी र जसपाका शीर्ष नेताबीच शनिबार माओवादी मुख्यालय कोटेश्वर पेरिसडाँडामा भएको छलफलले तीन दलबीच सत्ता सहकार्य गर्ने सैद्धान्तिक सहमति भएको हो ।

काँग्रेस र माओवादी केन्द्रबीच यसअघि नै सत्ता सहकार्यको सहमति भइसकेको छ । आफूहरुबीच तीन दल बसेर सत्ता समीकरणबारे कुराकानी गर्ने निर्णय भएको बैठकपछि जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । ‘हामी र माओवादी केन्द्रबीच काँग्रेससँग बसेर छलफल गर्ने सहमति भएको छ’, यादवले भने, ‘कुराहरु सकारात्मक रुपमा अघि बढेका छन् ।’

प्रतिनिधिसभा विघटनमार्फत गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताजस्ता राजनीतिक उपलब्धी खोस्ने ओली सरकार धेरै समय राख्न नहुने समान निस्कर्ष निकालिएको यादवको भनाइ छ ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जसपाको मागबारे सकारात्मक कुराकानी भएको जानकारी दिए । जसपाले डिल्लीबजार कारागारमा रहेका सांसद रेशम चौधरीको मुद्धा फिर्ता र रिहाई तथा संविधान संशोधनलगायत माग राख्दै आएको छ । जसजाका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्री केपी ओलीसँग सत्ता सहकार्यको प्रयास गरिरहेका थिए ।

उनीहरुबीच धेरै चरणमा छलफल भए पनि निस्कर्ष भने आएको छैन । शुक्रबारको छलफलमा प्रधानमन्त्री ओलीले जसपाका सबै माग सम्बोधन गर्न आफू तयार रहेको तर, वर्तमान संसद पाँच वर्षसम्म नराख्न आफूलाई सघाउन सर्त राखेका थिए । संसद विघटन विरुद्ध आन्दोलन गरेका जसपा नेताहरुले संसदलाई बीचमैमा मार्ने ओलीको प्रस्तावमा असहमति जनाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us