
काठमाण्डु, १२ जेठ– एकीकृत नेकपा माओवादीको स्थायी समिति र पदाधिकारी चयनका लागि मतदान भइरहेको छ । स्थायी समितिको मतदान केहि समय अघि सकिएको छ ।
स्थायी समितिको परिणाम आएलगत्तै केन्द्रीय पदाधिकारीका लागि मतदान हुने निर्वाचन समितिका सदस्यले जानकारी दिए ।
दोश्रो चरणको निर्वाचनअन्तर्गत आज १७ सदस्यीय स्थायी समिति र ८ सदस्यीय पदाधिकारीका लागि निर्वाचन हुन लागेको हो ।
यसअघि सोमबार भएको निर्वाचनले ५० सदस्यीय पोलिट्ब्युरो चयन गरेको थियो । स्थायी समितिका लागि हुने निर्वाचनमा पोलिट्ब्युरोका सबै ५० जान नै उम्मेदवार हुने कार्यविधि छ । नेतृत्वमा पुग्न गुटबन्दी देखिएको भन्दै निर्वाचन कार्यविधिमा यसअघि रहेको व्यवस्था परिमार्जन गरेर स्थायी समिति र पदाधिकारी दुवैमा सबै केन्द्रीय सदस्यले मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
केन्द्रीय समितिले स्थायी समितिका लागि पोलिट्ब्युरो र पदाधिकारीका लागि स्थायी समिति सदस्यले मात्र मतदान गर्न पाउने कार्यविधि बनाएको थियो । स्थायी समितिको नतिजा आएलगत्तै आजै पदाधिकारीका लागि निर्वाचन हुने निर्वाचन समिति सदस्य रामनारायण बिडारीले काठमाण्डु टुडेलाई बताए ।
१७ सदस्यीय स्थायी समितिले आठ सदस्यीय पदाधिकारी छान्ने छ । अध्यक्षबाहेक उपाध्यक्ष दुई, महासचिव, सचिव तीन र कोषाध्यक्षका लागि निर्वाचन हुनेछ ।
स्रोतका अनुसार उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी, महासचिवमा कृष्णबहादुर महरा तथा सचिवमा वर्षमान पुन, टोपबहादुर रायमाझी र गिरिराजमणि पोखरेललाई ल्याउने तयारी छ ।
निर्वाचन कार्यक्रम बिहान ११ बजेबाट सुरु भएको बिडारीले बताए । यसैबीच असन्तुष्ट बाबुराम भट्टराई पक्षले भने निर्वाचन बहिस्कार गर्ने भएको छ । यसअघि पोलिट्ब्युरो चयनका लागि हिजो भएको निर्वाचन पनि सो पक्षले बहिस्कार गरेको थियो ।