
काठमाण्डु, २३ फागुन– नेकपाको प्रचण्ड–नेपाल पक्षका प्रमुख सचेतक देव गुरुङले केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गर्ने सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाएका छन् ।
उनले फैसला ‘बेठीक टाइम’ मा भएको टिप्पणी गरे । अदालतले फैसला गर्दैमा एमाले र माओवादी ब्युँतिएको बुझ्न नमिले भनाइ गुरुङको थियो । उनले तीन वर्षसम्म मुलुकमा नेकपाको सरकार रहेको भन्दै सरकारले तीन वर्षमा गरेका काममा समेत प्रश्न उठ्ने गरी फैसला आएको टिप्पणी गरे ।
‘जुन परिस्थितिमा आएर फैसला गरेको छ यसले नेपाल कम्युनिष्ट पार्टी नेकपाको निर्वाचन आयोगमा परिराखेको बहसको सम्बन्धमा केही केही प्रभाव पार्न सक्छ भन्ने लाग्छ’, सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले भने, ‘न्याय इनटाइममा दिनुपर्थ्यो, बेठीक टाइममा चाहिँ न्याय दिने काम भयो ।’ यद्यपि फैसलाले पार्ने अन्य प्रभावका बारेमा थप अध्ययनपछि भन्न सकिने गुरुङले उल्लेख गरे ।
न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले ओली र प्रचण्ड नेतृत्वको नेकपा दर्ता गर्ने निर्वाचन आयोगको निर्णय खारेज गर्दै आइतबार ऋषिराम कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई आधिकारिकता प्रदान गरेको थियो ।