जेलिभत्रै हत्या गर्ने ओली समूहका तीन कार्यकर्ता असल चरित्रका भन्दै राष्ट्रपतिबाट आममाफी

काठमाण्डु टुडे २०७७ फागुन १० गते ७:१७ मा प्रकाशित

काठमाण्डु, १० फागुन– ‘मेरो श्रीमानको हत्यारालाई के को आधारमा छोडियो ?’ २०६८ सालमा जेलभित्रै हत्या गरिएका चितवनका शिवप्रसाद पौडेलका हत्यारालाई प्रजातन्त्र दिवशका दिन राष्ट्रपतिबाट आम माफी दिइएपछि पौडेलकी श्रीमती बिनु रायमाझी पौडेल ४ दिनदेखि यीनै प्रश्नको उत्तरको खोजीमा छन् ।

‘मान्छे मारेर जेल परेका र फेरि जेलभित्रै अर्को व्यक्तिलाई कुटीकुटी मार्ने हत्यारालाई ज्ञानी र असल भनेर उन्मुक्ति दिन मिल्छ राष्ट्रपति ज्यू ?’ बिनुले प्रश्न गरिन् । राज्यको संरक्षणमा राखिएका पौडेलका हत्यारा सावित भइ कारबाही भोगीरहेका फणिन्द्र श्रेष्ठ,सुनील केसी र दिलबहादुर मोक्तानलाई फागुन ७ गते आममाफी दिइएपछि बिनुले न्यायका लागि फेरि लड्ने बताएकी छन् ।

२७ वर्षको उमेरमा बिनुले श्रीमान गुमाइन । चितवनको केराबारीमा भएको एक व्यक्ति हत्याको केशमा उनका श्रीमान् २०६८ भदौमा जेल परेका थिए । थुनछेक बहसका लागि कारागार चलान गरिएका शिवको मंसिर २० गते राती २ बजे सुतिरहेका बेला चक्कु, खन्ति, चापाकलको झाप, रड प्रयोग गरी निर्मम तरिकाले कुटपिट गरियो । पौडेललाई पुष २ गते मृत घोषणा गरियो ।

२०६६ जेठमा शिवका भाइ गोबिन्द पौडेलको भरतपुर १० मा धारीलो हतियार प्रयोग गरी हत्या भएको थियो । सोही केशमा चितवनका श्रेष्ठ, केसी र मोक्तान जेल परेका थिए । उनीहरुले नै शिवको पनि जेलभित्रै हत्या गरिदिए । पौडेल दाजु भाइको हत्यामा संलग्न श्रेष्ठ,केसी र मोक्तानलाई प्रजातन्त्र दिवशका दिन राष्ट्रपतिबाट आम माफी दिइयो । तीनै जना ओली पक्षीय नेकपा समर्थक हुन् । श्रोतका अनुसार यी तीन जना तत्कालिन समयमा एमालेका नेताहरुको ठेक्का पट्टामा बिचौलीयाको काम गर्ने सक्रिय युवा हुन्  ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us