
नुवाकोट, ७ फागुन– काँग्रेस सभापति शेरबहादुर देउवाले नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बोल्न नेताहरुलाई आग्रह गरेका छन् ।
देउवाले काँग्रेस नेताहरु प्रचण्डविरुद्ध बोल्न डराइरहेको टिप्पणी गरे । उनले कम्युनिष्टहरुविरुद्ध जाइलाग्न आग्रह गर्दै प्रचण्ड र केपी ओली दुवैविरुद्ध बोल्न आग्रह गरे । उनको संकेत प्रतिनिधिसभा विघटनविरुद्ध बोलिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरुतर्फ थियो । ‘हाम्रा साथीहरु बल्ल केपी ओलीविरुद्ध बोल्न सक्ने भएका छन्’, काँग्रेस पार्टी कार्यालय भवनको नुवाकोटको शुक्रबार विदुरमा उदघाटन गर्दै देउवाले भने, ‘प्रचण्डविरुद्ध बोल्न अझै डराउँछन् विचराहरु, प्रचण्डको नामै लिन सक्दैनन् ।’ देउवाले प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा नबोल्न नेताहरुलाई निर्देशन समेत दिए । अदालतले पुर्नस्थापना वा विघटन सदर जे गरे पनि आफूहरुले स्वीकार गर्ने बताए ।
उनले चुनावबाट नभाग्न आफ्ना नेताहरुलाई आग्रह गरे । नेकपाका दुवै समूहले भित्रभित्रै निर्वाचन तयारी गरिरहेको र चुनाव चिन्हबारे झगडा गरिरहेको भन्दै काँग्रेस नेताहरुले भने चुनाव हुँदैन भन्दै हिंडेकामा आपत्ति जनाए । अहिले नभए पनि डेढ वर्षपछि चुनाव हुने भन्दै देउवाले त्यसको समेत तयारी थाल्नुपर्ने बेला आएको उल्लेख गरे ।
तर, निर्वाचन मिति घोषणा भएको ६ महिनाभित्र निर्वाचन नभए सबै मिलेर ओलीलाई सत्ताबाट हटाउने चेतावनी दिए । देउवाले प्रतिनिधिसभा विघटन गरेर ओलीले मात्र नभई नेपालमा संविधान नमिच्ने नेता कोही नरहेको जिकिर देउवाले गरे ।
।