प्रचण्डलाई ओलीको जवाफः कौशल्याले राम जन्माउँदाकी सुँडेनी कहाँ खोजेर ल्याउने ?

काठमाण्डु टुडे २०७७ फागुन १ गते १४:१३ मा प्रकाशित

बुटवल, १ फागुन– प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी ओलीले नेपालको माडीमा जन्मिएको प्रमाण खोज्न कौशल्याले राम जन्माउँदाको सुँडेनी खोज्न गाह्रो रहेको बताएका छन् ।

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै उनले सुडेनी खोज्न कहाँ जाने भन्ने प्रश्न गरे । ‘अस्ति एकजना मान्छेले भाषण गर्दा भन्नुभयो, केपी ओलीले राम जन्मभूमिमा राम र सीताको मन्दिर बनाउने, त्यहाँ प्रतिमा बनाउने भन्ने सुन्दैछु । तर त्यो भन्दा अगाडि प्रमाणित गर्नुपर्यो नि राम त्यहीँ जन्मेका थिए भनेर’, बुटवलमा शनिबार केबलकार शिलान्यास कार्यक्रममा ओलीले भने, अब म त्यसबेलाका सुडाइसुडेनी खोजेर ल्याौं कि ? के अँ, हो कौशल्याले राम जन्माउँदा मै सुडेनी थिएँ भनेर भन्ने को फेला पर्ला ?’

प्रचण्ड नेपाल–समूहले २८ माघमा राजधानीमा गरेको सभामा प्रचण्डले ओलीले राजनीतिक स्टण्डबाजीका लागि मात्र रामसीताको कुरा गरेको भन्दै  राम अयोध्यामा जन्मेको विषय प्रमाणित गर्न अनुसन्धान थाल्न आग्रह गरेका थिए । ओलीले राम अयोध्यापुरीमै जन्मिएको भन्दै त्यसको प्रमाण अन्त कर्त नभएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us