राष्ट्रपति प्रधानमन्त्रीको प्यादा बनेकाले बोलेको हुँ, कसरी मिचियो महिला अस्मिता ?

काठमाण्डु टुडे २०७७ माघ २८ गते २२:३५ मा प्रकाशित

काठमाण्डु, २८ माघ– सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि प्रधानमन्त्री केपी ओलीसँग जोडेर अभिव्यक्ति दिएको भन्दै पक्राउ गर्ने तयारी गरेको समाचारहरु आइरहेका बेला नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री ओली र भण्डारीप्रति थप कडा रुपमा प्रस्तुत भएकी छन् ।

संसद विघटनविरुद्ध बुधबार आफ्नो समूहले राजधानीमा गरेको सभालाई सम्बोधन गर्दै झाँक्रीले राष्ट्रपति भण्डारी निरंकुश प्रधानमन्त्री ओलीको प्यादा बनेकाले उनीमाथि टिप्पणी गरिएको प्रष्टीकरण दिइन् । आफूहरुले लडेर ल्याएको व्यवस्थामा सन्की प्रधानमन्त्रीको प्यादा बन्ने खलपात्रबारे बोल्न पाइने उनको भनाइ थियो । आफूले राष्ट्रपति संस्थाको सम्मान गर्ने र त्यसविरुद्ध नबोलेको भन्दै उनले सन्काहा र अहंकारी शासकको प्यादा विद्यादेवी भण्डारीविरुद्ध बोलेको जिकिर गरिन् । ‘कुनै व्यक्ति निर्वाचनको प्रक्रियाबाट त्यो संस्थामा गएर निरंकुशताको साक्षी बस्छ, प्यादा बन्छ भने त्यस्ता पात्रविरुद्ध बोल्न पाइन्छ’ झाँक्रीले प्रश्न गरिन्, ‘एउटा खलपात्रविरुद्ध बोल्दै गर्दा कसले भन्छ महिला अस्मिता मिचियो भनेर ?’

झाँक्रीले विद्या भण्डारीले तत्कालीन एमालेनिकट महिला संगठनलाई १८ वर्षसम्म प्राइभेट लिमिटेड बनाएको र त्यही प्रालिका केही महिलाहरुले भण्डारीमाथि आफूले गरेको टिप्पणीलाई महिला हिंसासँग जोडेर कारबाहीको माग गरेकामा आक्रोश पोखिन् । विद्याबारे बोल्दा कारबाहीको माग गर्नेहरु बैतडीमा बलात्कृत १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै गृह मन्त्रालय गएको आफूले थाहा नपाएको टिप्पणी गरिन् ।

झाँक्रीलाई पक्राउ गर्न नेकपाको ओली समूह निकट महिला संगठनले प्रधामनन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेर ज्ञापनपत्र बुझाएका थिए । ओली र थापा दुवैले झाँक्रीलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिने आश्वासन दिएका थिए । श्रोतका अनुसार गृहसचिव महेश्वर न्यौपानेले झाँक्रीलाई पक्राउ गर्न प्रहरी नेतृत्वलाई दबाब दिइरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us