
काठमाण्डु, २८ माघ– सरकारले नेकपा प्रचण्ड–नेपाल समूहर्की नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने तयारी गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई जोडेर आपत्तिजनक र अशोभनीय अभिव्यक्ति दिएको आरोपमा झाँक्रीलाई पक्राउ गर्न लागिएको हो । ओली समूहका महिला नेतृहरुको समूहले प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटेर झाँक्रीलाई पक्राउ गर्न दबाब दिएका थिए । त्यस क्रममा ओलीले झाँक्रीलाई पक्रन प्रहरीलाई निर्देशन दिने आश्वासन दिएका थिए । श्रोतका अनुसार राष्ट्रपति भण्डारीले पनि आफ्नाबारेमा आपत्तिजनक अभिव्यक्ति दिँदै हिंडेकी झाँक्रीलाई पक्रेर थुन्न दबाब दिएकी छन् । झाँक्रीले मदन भण्डारीको हत्यापछि ‘सेतो फरिया लगाएर भण्डारीलाई राजीतिमा ल्याउनु गल्ती’ भएको बताएकी थिइन् । यस्तै उनले शक्तिको आलंकारिक राष्ट्रपतिमा शक्तिको उन्माद चढेको भन्दै राजनीति गर्न मन भए चुनावमा आउन चुनौती दिएकी थिइन् । झाँक्रीले शीतलनिवास छाडेर कि बानेश्वरको निजी निवासमा वा केपी ओली निवास बालकोट जान पनि भनेकी थिइन् । त्यही अभिव्यक्तिका कारण झाँक्री विवाद र चर्चामा छिन् । प्रधानमन्त्रीको निर्देशनमा गृहसचिव महेश्वर न्यौपानेले झाँक्रीलाई पक्राउ गर्न प्रहरी नेतृत्वलाई पटकपटक दबाब दिएका छन् । प्रहरी प्रधान कार्यालय श्रोतका अनुसार झाँक्रीलाई आज भोलि नै पक्राउ गर्ने तयारी छ । गृहसचिव न्यौपानेले झाँक्रीलाई नेकपाको आज हुने सभास्थलबाटै उठाउन दबाब दिएको प्रहरी श्रोतको दाबी छ ।