प्रचण्ड–नेपालको मागः बैतडी घटना निर्मला पन्तको जस्तो नहोस्

काठमाण्डु टुडे २०७७ माघ २४ गते १६:२१ मा प्रकाशित

काठमाण्डु, २४ माघ– नेकपाको प्रचण्ड–नेपाल समूहले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नमाथि कारबाहीको माग गरेका छन् ।

अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले शनिबार संयुक्त शोक वक्तव्य जारी गर्दै घटनाको सत्यतथ्य सार्वजनिकीकरणसहित दोषीमाथि कडा कारबाहीको माग गरेका हुन् । विज्ञप्तिमा प्रचण्ड र नेपालले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही नभएको जस्तो बैतडी घटनामा गैरजिम्मेवार नबन्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

विज्ञप्तिमा निर्मला पन्तको हत्या र त्यसमा न्याय नपाएको अवस्थाले सिर्जना गरेको जनाक्रोश सेलाउन नपाउँदै बैतडीमा घटेको घटनाले आमनागरिकलाई शान्ति सुरक्षा दिन राज्य संयन्त्र असफल भएको तथ्य प्रमाणित भएकमो उल्लेख छ । विज्ञप्तिमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टीका तर्फबाट परिवारजनमा समवेदना प्रकट गरिएको छ ।

बैतडी दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी चडेपानीस्थित श्रमिक माविमा कक्षा १२ मा अध्ययनरत थिइन् । बुधबार विद्यालयबाट घर नफर्किएपछि स्थानीय र आफन्तले उनको खोजी गरेका थिए । त्यस क्रममा उनलाई बिहीबार घरनजिकै जंगलमा मृत फेला पारिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us