
काठमाण्डु, २१ माघ– नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकल दाहाल प्रचण्डले पूर्वमाओवादी लडाकुको व्यवस्थापन गर्न नसक्नु आफ्नो कमजोरी भएको बताएका छन् ।
अब भने पूर्वलडाकुलाई जिम्मेवारी दिन पार्टीमा विशेष कमिटी निर्माण गरिने उनको भनाइ छ । ‘जनमुक्ति सेनाका योद्धाहरुलाई पार्टीमा जिम्मेवारी दिएर समाजमा स्थापित गर्न नसक्नु कमजोरी भयो’, बहिर्गमित जनमुक्ति सेना’ को राष्ट्रिय सम्मेलनलाई बुधबार सम्बोधन गर्दै प्रचण्डले भने, ‘अब पार्टीमा तपाईंहरुका लागि छुट्टै विशेष कमिटी बनाएर जिम्मेवारी दिइन्छ ।’
प्रचण्डले जनमुक्ति सेनाका पूर्वकमाण्डर नन्दकिशोर पुन (पासाङ) लाई उपराष्ट्रपति बनाएको र धेरै कमाण्डरहरु संघीय र प्रदेशमा मन्त्री तथा सांसद भनेको उल्लेख गरे । केन्द्रीय भूमिकामा कमाण्डरहरुलाई उचित जिम्मेवारी दिए पनि तल्लो तहमा पार्टी कमिटीमा जिम्मा दिन नसकिएको भन्दै प्रचण्डले माफी मागे ।
प्रचण्डले प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा बादललाई बारम्बार पूर्वलडाकुको राहत तथा उपचारको व्यवस्था मिलाउँन आग्रह गर्दा अटेर गरेको प्रचण्डको भनाइ थियो । तर, पार्टी विभाजनपछि भने ओलीले पूर्वलडाकुलाई प्रचण्डले नहेरेको भन्ने ओलीको अभिव्यक्ति सुन्दा आश्चर्य लाग्ने बताए ।
‘घाउमा नुनचुक छर्ने यो भन्दा अरु केही हुन्छ ?’, प्रचण्डले भने, ‘हिजोसम्म जनयुद्ध र पूर्वलडाकुलाई अपमान गर्ने ओलीले अहिले खरिद बिक्री गर्न खोजेका छन् ।’