कञ्चनपुर, १० जेठ – सुईका माध्यमबाट लागुऔषधको प्रयोग गर्ने कञ्चनपुरका बाइस जना लागुऔषधकर्ताका मुत्यु भएको छ ।
लागुऔषध न्यूनीकरणका क्षेत्रमा काम गर्दै आएको फेद कञ्चनपुरका अनुसार आठ वर्षको अवधिमा बाइस जना लागुऔषधकर्ताको मुत्यु भएको हो । मुत्यु हुनेमा सबै कञ्चनपुरका स्थानीय बासिन्दा भएको फेद कञ्चनपुरका कार्यक्रम संयोजक नवराज पाण्डेले जानकारी दिए ।
२०६३ देखि गरिएको सर्वेक्षण अनुसार अत्यधिक लागुऔषध सेवन गरेर समयमै उपचार नपाएका कारण उनीहरुको मुत्यु भएको फेद कञ्चनपुरको ठहर छ । हालसम्म कञ्चनपुरका ४११ जना लागुऔषधका सेवनकर्ता फेदको सम्पर्कमा आएका छन् ।
जिल्लामा पुनःस्थापना गृह नहुँदा प्रयोगकर्ताहरुलाई व्यवस्थापन गर्न समस्या उत्पन्न भएको संयोजक पाण्डेले बताए ।
जिल्लाबाट हालसम्म काठमाण्डु र धनगढीमा ४८ जनालाई पुनःस्थापनाका लागि पठाइएको छ । १५ वर्षदेखि ४८ उमेर समूहका युवाले सो औषधि प्रयोग गर्दछन् । भारतबाट लुकिछिपी औषधि ल्याएर प्रयोग गर्ने पाइएको छ ।
प्रयोगकर्ताले टिटिजेसी, फेनारगन, लुटिजेसी, फोरटी, एभिल नामक औषधि सुईका माध्यमबाट प्रयोग गर्दछन् ।