ओलीप्रति रावलको कटाक्षः पशुपतिमा बत्ती बालेर अपराध पखालिँदैन

काठमाण्डु टुडे २०७७ माघ १४ गते ९:०४ मा प्रकाशित

बाजुरा, १४ माघ– नेकपाको प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी ओलीले ‘मुलुक र जनताविरुद्ध गरेको पाप’ पखाल्न पशुपतिनाथमा बत्ती बालेको टिप्पणी गरेका छन् ।

संसद विघटनविरुद्ध बाजुराको कोल्टीमा मंगलबार आयोजित जनसभामा रावलले ओलीले पशुपति दर्शन र सबा लाख बत्ती बालेकामा कटाक्ष गरे । रावलले संसद विघटन गरेर देश, जनता, लोकतन्त्र र संविधानमाथि गरेको पाल बत्ती बाल्दैमा नपखालिने रावलको भनाइ थियो । ‘केपी ओलीले आफूले गरेको असंवैधानिक संसद विघटनको पाप पखाल्न पशुपतिमा बत्ती बालेका छन्’, रावलले भने, ‘बत्ती बाल्दैमा यति ठूलो पाप पखालिँदैन ।’

मंगलबार बिहान पत्नि राधिका शाक्य र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालका साथ पशुपति पुगेका ओलीले बत्ती बालेका थिए । रावलले प्रधानमन्त्री ओली विदेशीका सामु झुकेको आरोप लगाए ।

आफ्नो अक्षमता ढाकछोप गर्न ओलीले पार्टीले सरकारका काममा अवरोध गरेको टिप्पणी गरेको भन्दै रावलले जनताका पक्षमा गर्न खोज्दा पार्टीले रोकेको एउटा मात्र काम भन्न ओलीलाई चेतावनी दिए । ‘विदेशीसँग अस्वाभाविक रुपमा नझुक्न र कोभिडको उपचार गर्न पार्टीले दबाब दिएकै हो’, रावलले भने, ‘राम्रो काम गर्न खोज्दा रोकेको एउटा मात्र उदाहरण देखाउन म चुनौती दिन्छु ।’

रावलले कोभिडका बिरामीको उपचारका लागि पैसा नभएको भन्ने सरकारले निर्वाचनका लागि ५०÷६० अर्ब कहाँबाट जुटाउने भन्ने प्रश्न रावलले गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us