
काठमाण्डु, १३ माघ– नेकपा विभाजनमा कतै नलागी तटस्थ बसेका उपाध्यक्ष वामदेव गौतमले आफू पार्टी एकताको पक्षमा रहेको दोहो-याएका छन् ।
निर्वाचन आयोगले नेकपा विभाजनलाई वैधता नदिने निर्णय गरेको एक दिनपछि सोमबार सञ्चारकर्मीसँग गौतमले आफू अहिलेसम्म कर्त नलागेको र जसले अध्यक्ष दिन्छ उतै लाग्ने योजना सुनाए । ‘म कुनै समूहमा जान एकता अभियान चलाएको होइन’, गौतमले भने, ‘जुन समूहले अध्यक्ष दिन्छन्, त्यही समूहमा गएर अध्यक्ष हुन्छु र पार्टी एकता गर्छु ।’ गौतमले आफू जता जाँदा पार्टी एकता हुन्छ त्यतै जाने पनि स्पष्ट गरे ।
गौतमले आफू प्रचण्ड–नेपाल र ओली दुवै गुटमा नलागेको भन्दै आफूसँग हरि पराजुलीबाहेक कोही केन्द्रीय सदस्य नरहेको बताए । ‘मैले पार्टीमा गुटबन्दी नगरेकाले मसँग कोही पनि केन्द्रीय सदस्य छैनन्’, उनले भने, ‘मसँग अहिले हरि पराजुली मात्र हुनुहुन्छ ।’
तत्कालीन एमाले र माओवादी केन्द्र एक बनाएर नेकपा निर्माणमा भूमिका खेलेको दाबी गर्दै गौतमले यसपटक पनि आफू सोही अभियानमा रहेको उल्लेख गरे । प्रधानमन्त्री केपी ओलीले गत ५ पुसमा संसद भंग गरेपछि नेकपा करिब फुटे पनि गौतम कतै खुलेका छैनन् । तर, उनले संसद विघटन गर्ने ओलीको कदमको भने आलोचना गरेका छन् ।