भारतीय कन्सुलेट आक्रमणमा पाकिस्तानकाे हात रहेकाे अाश‌का

काठमाण्डु टुडे २०७१ जेठ ९ गते १२:५४ मा प्रकाशित

काठमाण्डु , ९ जेठ – अफगानिस्तानको हेरात प्रान्तमा रहेको भारतीय कन्सुलेटमा हतियारधारीले शुक्रबार आक्रमण गरेका छन् ।

afganstanशुक्रबार एकाबिहानै सो कन्सुलेटमा हमला गरिएको समाचारमा जनाइएको छ । सो आक्रमण तालिवानहरुले गरेको अनुमान गरिएको छ ।

सो आक्रमणमा मानवीय हताहति भने भएको छैन । अफगानिस्तानको सेनाले त्यहाँ कुनै हताहति नभएको जनाएको छ ।

भारतीय कूटनीतिक नियोगमा लामो समयपछि यो पहिलो पटक हतियारधारीले हमला गरेका हुन् । शुक्रबारको हमलामा कयौंको सङ्ख्यामा हतियारधारी आएको बताइएको छ ।

त्यस घटनाको जिम्मेवारी अहिलेसम्म कुनैपनि समूह वा पक्षले लिएको छैन । तरपनि उक्त घटनामा तालिवानहरुको हात रहेको हुनसक्ने अनुमान गरिएको छ ।

    पाकिस्तानको हात छ– भारत

भारतले सो हमलामा आफ्ना सुरक्षाकर्मीहरु सुरक्षित रहेको जनाएको छ । उसले सो हमलालाई भारतीय सुरक्षाकर्मीका साथै अफगान सेनाले पनि निडरतापूर्वक लडेर परास्त गरिदिएको बताएको छ ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता सइद अकबारिद्दिनले त्यहाँ आक्रमण भएको पुष्टि गर्दैै सो आक्रमणका कारण भौतिक क्षति भएको र कुनै मानवीय हताहति भने नभएको जानकारी दिए ।

साथै भारतीय जनता पार्टीका नेता एवम् आगामी सरकारमा प्रधानमन्त्रीका रुपमा अघि सारिएका नेता नरेन्द्र मोदीले अफगानिस्तानका लागि भारतीय राजदूतलाई फोन गरी आवश्यक जानकारी पनि लिएका थिए ।

उता भारतले भने सो आक्रमणमा पाकिस्तानी समूहको हात रहेको आरोप लगाएको छ । भारतीय विदेश मन्त्रालयले सो आक्रमणमा पाकिस्तानीहरुको हात रहेको बताएको थियो ।
सो आक्रमणमा पाकिस्तानी नागरिकको हात रहेको भन्दै भारतीय विदेश मन्त्रालयले शुक्रबार बिहान जनाएको थियो ।

    हाम्रो हात छैन– पाकिस्तान

यसैबीच पाकिस्तानले भारतले लगाएको सो आरोपको खण्डन गरेको छ । उसले सो आक्रमणमा भारतले पाकिस्तानमाथि दोष लगाउनु आश्चर्यजनक भएको प्रतिक्रिया दिएको छ ।

पाकिस्तानी विदेश मन्त्रालयले शुक्रबार प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ– कूटनीतिक नियोगमाथिको हमला अक्षम्य हो र यस्तो घटना कुनैपनि कारणले पुष्टि हुँदैन ।

यसमा कुनैपनि हालतमा र कुनैपनि पाकिस्तानी नागरिकको हात र संलग्नता छैन– सो विज्ञप्तिमा भनिएको छ । यसअघि पनि अफगानिस्तानमा भारतीय माथि हुने गरेका आक्रमणमा पाकिस्तानीहरुको हात रहेको जस्ता आरोप भारतले लगाउने गर्दथ्यो । सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us