
काठमाण्डु, ९ जेठ – थाइल्यान्डको सैनिक सरकारले त्यहाँका राजनीतिक दलका नेताहरुलाई देशबाहिर जान प्रतिबन्ध लगाइएको समाचार छ ।
त्यहाँको सैनिक सरकारले शुक्रबार सो सूचना जारी गरेको छ । सैनिक सरकारले राजनीतिक दलका नेताहरुलाई सरकारको सहमति बिना देशबाहिर जान प्रतिबन्ध लगाएको जनाइएको छ ।
थाइल्यान्डमा बिहीबार अपरान्ह सेनाले सत्ता हत्याएको हो । सैनिक ‘कू’ गरिएको समाचारलगत्तै सेनाले राजधानी बैंकक सैनिक घेराउमा पारेको छ ।
बिहीबार सेनाले औपचारिक रुपमै देशको शासकीय शक्ति आफ्नो हातमा आएको घोषणा गरेको थियो । यससँगै त्यहाँ सैनिक शासन लागू भएको हो ।
थाई सैनिक प्रमुख प्रयुत चान ओचाले देशलाई पुनः शान्तिपूर्ण र पहिलाकै अवस्थामा पु¥याउनका लागि शान्ति समिति गठन गरिएको जानकारी पनि सरकारी टेलिभिजनमार्फत गराएका थिए ।
उनले सैनिकको संयोजन र संयोकत्वमा सुरु गरिएको सो समितिले देशमा शान्ति स्थापनाका लागि पहल गर्ने जानकारी दिए । देशमा शान्ति स्थापनाका लागि सैनिकले भरमग्दुर प्रयत्न गर्ने पनि उनले बताएका छन् ।
शुक्रबार सैनिक सरकारले एक आदेश जारी गर्दै राजनीतिक दलका नेता एवम् पूर्व प्रधानमन्त्रीहरुलाई समेत देशबाहिर जान प्रतिबन्ध लगाइएको बताएको छ ।
यसबाट हालैमात्र अदालतको आदेशबाट पदमुक्त हुनुभएका त्यहाँका पूर्व प्रधानमन्त्री थाकसिन सिनावात्रा पनि देशबाहिर जान नपाउने भएकी छिन् ।
साथै अन्य दलहरुका नेतालाई पनि यो कानुन लागू भएको छ । तर त्यस कानुनमा कहिलेसम्म देश छोडेर बाहिर जान नपाउने हो भन्ने बारेमा भने केही भनिएको छैन ।
थाइल्यान्डमा विगत करिब सात महिनादेखि जारी रहेको अस्थिरता हिंसात्मक प्रदर्शनहरुपछि गत मङ्गलबार मात्र सैनिकले सैन्य कानुनको घोषणा गरेको थियो ।
सेनाले सञ्चारमाध्यममा पनि सेन्सरसिप सुरु गरेको अधिकारीहरुले जनाएका छन् । बिहीबार सेनाले त्यहाँका रेडियो र टेलिभिजनहरुमा पनि प्रतिबन्ध लगाएको छ ।
उसले रेडियो र टिभीलाई सैनिकले तयार गरेका कार्यक्रमहरु मात्र देखाउन र बजाउन आदेश दिएको छ ।
बिहीबार अपरान्हदेखि सुरक्षाको निकै कडा प्रबन्ध गरिएको छ भने सैनिक सरकारले गए रातिदेखि कफ्र्यू आदेशको घोषणा पनि गरेको छ ।
शुक्रबार सेनाले त्यहाँका राजनीतिक दलका नेता, पूर्व प्रधानमन्त्रीका साथै अघिल्लो सरकारका मन्त्रीहरुसमेत गरी कम्तीमा पनि १५० जनाभन्दा बढी राजनीतिज्ञलाई देशबाहिर जान रोक लगाएको हो । एएफपी