ओलीको कदमसँगै अहिलेको व्यवस्था गयोः वैद्य

काठमाण्डु टुडे २०७७ पुष १६ गते १३:०३ मा प्रकाशित

काठमाण्डु, १६ पुस– मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको संसद विघटन गर्ने कदमसँगै अहिलेको राजनीतिक व्यवस्थाको अन्त्य हुने दाबी गरेको छ ।

मुलुकको विकसित राजनीतिक घटनाक्रमबारे पार्टी स्थायी समिति बैठकले गरेको निर्णयबारे जानकारी दिन महासचिव वैद्यद्वारा जारी विज्ञप्तिमा संकट व्यवस्थापनका लागि अहिलेको व्यवस्था परिवर्तन गरी वैज्ञानिक समाजवाद र संघीय जनगणतान्त्रिक व्यवस्था स्थापना गर्नुपर्ने उल्लेख गरिएको छ । वैद्य माओवादीले ओलीको कदम गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताविरुद्ध परिलक्षित निरंकुशतावादी र फासीवादी कदम भएको निस्कर्ष निकालेको छ ।

आर्थिक, राजनीतिक तथा सांस्कृतिक रुपमा संकटग्रस्त बन्दै गएको वर्तमान प्रतिक्रियावादी राज्यसत्ता, व्यवस्था र संविधानको असफलताको परिणाम संसद विघटन भएको दाबी वैद्यको छ । विज्ञप्तिमा प्रतिक्रियावादी राज्यसत्ता तथा व्यवस्थामाथि पैदा भएको संकटको निकास मध्यावधि निर्वाचन हुनै नसक्ने जिकिर वैद्यको छ ।

देशमा आन्तरिक तथा बाह्य रुपमा विभिन्न प्रतिक्रियावादी, साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरुको चलखेल तीव्र रुपमा बढ्दै गएको भन्दै वैद्य माओवादीले मुलुकको राष्ट्रिय स्वाधीनता तथा सार्वभौमिकताको रक्षा, जनताका जनतान्त्रिक हक अधिकारको प्राप्ति र जनजीविकाको सुनिश्चितताको प्रश्नमा गम्भीर खतरा उत्पन्न भएको ठहर गरेको छ ।

वर्तमान संकटको वास्तविक निकास र राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरुको समाधानका निम्ति संघीय जनगणतन्त्रको स्थापनार्थ कार्यगत एकता तथा संयुक्त मोर्चा गरी सशक्त तथा प्रभावकारी ढंगले संघर्षमा उत्रन सबै देशभक्त, जनवादी तथा वामपन्थी शक्तिसँगै वैद्यले अपिल गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us