
वीरगन्ज ८ जेठ –अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु गर्न थालेपछि वीरगन्जमा रहेका बोर्डिङ स्कुलका विद्यार्थीहरु सामुदायिक विद्यालयतर्फ आकर्षित भएका छन् ।
सामुदायिक विद्यालयबाट एसएलसी परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुले उच्च शिक्षा अध्ययनका क्रममा छात्रवृत्ति पाउनेलगायतका अन्य अवसरको पनि सम्भावना बढी हुने भएकाले पनि निजी विद्यालयका विद्यार्थीहरु सामुदायिक विद्यालयतर्फ आकर्षित भएका हुन् ।
वीरगन्जको माईस्थान विद्यापीठ माविले यसै शैक्षिकसत्रदेखि कक्षा ८ र ९ मा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेपछि निजी बोर्डिङ स्कुलका विद्यार्थीहरु पनि आफ्नो विद्यालयमा भर्ना भएको प्रधानाध्यापक विनोद मेहताले बताए ।
अङ्गे्रजी माध्यममा पढाइ हुन थालेपछि पर्सालगायत, बारा र रौतहट जिल्लाबाट पनि विद्यार्थी पढ्न आउने गरेको भन्दै उहाँले केही वर्षयता संस्थागत विद्यालयमा पढ्ने तर सामुदायिक विद्यालयबाट एसएलसी परीक्षा दिने बढ्दो प्रवृत्ति रोक्न आफूले यो प्रयास गरेको उल्लेख गरे ।
पर्साका जिल्ला शिक्षा अधिकारी हरि बस्नेतले सरकारको नीतिअनुसार सामुदायिक विद्यालयहरुले नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठनपाठन गर्न सकिने बताए ।