
चितवन, ७ जेठ – पश्चिम चितवनको मेघौली गाउँ विकास समिति–७ गौतम नगरमा वुधबार दिउँसो यात्रुबाहक बस दुर्घटना हँुदा २३ जना घाइते भएका छन् ।
गोलाघाटबाट नारायणगढतर्फ आउँदै गरेको ना ४ ख १५४७ बस आफैं सडक छेउ पल्ँिटदा २३ जना घाइते भएका हुन् ।
घाइतेहरुको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यस्तै, नारायणगढको पुल्चोकमा यात्रुबाहक बसले स्कुटरलाई ठक्कर दिँदा एक युवती घाइते भएकी छिन् ।
पोखरा बसपार्कबाट पुल्चोकतर्फ आउँदै गरेको ना १६ प ३८८० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको ना ३ ख ८८४२ नम्बरको बसले ठक्कर दिँदा भरतपुर नगरपालिका–३ की २३ वर्षीय पवित्रा मगर गम्भीर घाइते भएकी हुन्् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।