
ललितपुर, ७ जेठ– प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो नेतृत्वको सरकारमाथि थप दबाब आए एक दिन पनि सरकारमा नबस्ने चेतावनी दिएका छन् ।
पूर्वसांसद मञ्चले बुधबार ललितपुरमा गरेको कार्यक्रममा उनले धेरै दबाब नदिन आग्रह गर्दै दबाब आइरहे सरकार छाड्ने बताएका हुन् । आफू कुर्सीमा टाँसिरहने मनस्थितिका साथ सरकारमा नआएको कोइरालाको भनाइ थियो ।
‘मलाई प्रधानमन्त्रीको कुर्सीमा टाँसिरहन मन छैन’, कोइरालाले भने, ‘धेरै प्रेसर आउन थाल्यो भने एक दिन पनि कुर्सीमा बस्दिन ।’ सरकारको सय दिन सुस्त र असफल भएको टिकाटिप्पणी भइरहेका बेला उनको यो भनाइ आएको हो । कोइरालाले आफूलाई एक वर्ष काम गर्ने अवसर दिन भने ।
सरकारको काम सुस्त भएको महसुस आफूलाई पनि भएको भन्दै उनले चुप लागेर बने नबसेको प्रष्टीकरण दिए । ‘सरकारप्रति जनताको अपेक्षा बढ्नु स्वभाविक हो’, कोइरालाले भने, ‘जनअपेक्षा अनुरुप काम गर्न नसकेकामा दु:ख लागेको छ ।’