पशुपतिका पूर्वपुजारी भन्छन्, ‘भारतीय भट्टहरुका कारण पशुपतिनाथबाट धर्म हराइरहेको छ’

काठमाण्डु टुडे २०७१ जेठ ६ गते १३:२४ मा प्रकाशित

काठमाण्डु – पशुपतिनाथमा रहेका भारतीय भट्टहरुले दुईवटा एजेण्डा उठाएर विशेष पूजा बन्द गराएका छन् । यो अर्थ राजनीतिक आवरणमा जनताको धार्मिक–सांस्कृतिक आस्थामाथिको खेलबाड हो ।

bishnu drम पशुपतिनाथको पुजारी भएपछि सरकारले भट्टहरुको तलब तोक्यो । सरकारले तलबमा नियमअनुसार करककट्टी गर्छ । तर भट्टहरुलाई यो स्वीकार्य भइरहेको छैन । भारतीय भट्टहरु नेपालको कर कानुनबाट आफूहरु मुक्त हुनुपर्छ भन्ने ठान्छन् । अर्को पूजाको १० देखि १५ प्रतिशत भरतीय भट्टहरुले कमिसन पाउँछन् । जबकि विशेष पूजा एउटैको १२ लाख रुपैयाँ जम्मा हुन्छ ।

मानौं कुनै यजमानले पशुपतिनाथको पूजा एक लाख रुपैयाँमा गर्न भनेर आयो । सरकार १७ हजारसम्म दिन तयार भएको छ । तर उनीहरु ४० हजार पाउनुपर्छ भनिरहेका छन् । पशुपतिनाथको आम्दानी २५ प्रतिशत पनि राज्य कोषमा आउन सकिरहेको छैन । त्यो भट्टहरुका दलालमार्फत उनीहरुकैमा पुग्छ । पशुपति क्षेत्र विकास कोषले रसिद काटेर पूजा गराउँदैन । जो पायो त्यही मन्दिरभित्र पस्न नपाउने भएका कारण कतिको पूजा भयो अरुलाई थाहा पनि हुँदैन । त्यहाँ धेरै ठूलो अपारदर्शीता छ । यसको जति निन्दा गरे पनि कम हुन्छ । पैसाका लागि भगवान आराध्यदेवको पूजा रोकिएको छ । यसले जनताको धार्मिक आस्थामाथि खेलबाड भइरहेको छ ।

यसरी जम्मा हुन्छ पशुपतिमा भेटी
पशुपतिनाथ दक्षिण एसियाकै धार्मिक पर्यटकीय क्षेत्र हो । किनभने विश्वका एक अरब २० करोड मान्छेका प्रत्यक्ष आस्थाको केन्द्र हो पशुपतिनाथ । ती मानिसहरुले आफ्ना विभिन्न समस्याको निदानमा लागि पशुपतिमा विशेष पूजा गर्दछन् । धर्म, अर्थ, काम र मोक्षका लागि पशुपतिमा विभिन्न पूजाका माध्यमबाट भेटीघाटी चढाउँछन् । त्यहाँ ११ सयदेखि १२ लाखसम्मको विशेष पूजा हुने गरेको छ । शिबरात्रीको एक दिनमात्र कम्तिमा ५ करोड रुपैयाँ जम्मा हुन्छ । त्यसमध्ये अधिकांश दुरुपयोग हुने गरेको छ ।

मैले जम्मा सात दिन मात्र पशुपतिको नियमित पूजा चलाएँ । बाहिर नेपाली पुजारी नियुक्त गरिएको विरोधमा टायर बाल्ने र डुंगामुढा गर्ने क्रम तीव्र थियो । पशुपतिको भेटी दामासाहीले बाँडेर खाँदै आएका मठाधीस र दलालहरुले राजनीतिक आवरणमा प्रतिकूल परिस्थिति सिर्जना गरिरहेका थिए । त्यति हुँदा पनि जनताले एक, दुई, गरेर चढाएको भेटी दैनिक ५० हजारको हाराहारीमा जम्मा हुने गरेको थियो ।

भारतीय भट्टहरु सात जनाले गर्ने काम म एक्लैले गर्थें ।  मन्दिरमा मूल पुजारीबाहेक अरु जान नमिल्ने भएका कारण मलाई पशुपति क्षेत्र विकास कोषले एउटा थुन्से दिन्थ्यो, हरेक दिन । त्यसमा म पूजा गरेको बेलपत्र बाहिर निकाल्थें ।  त्यसमा अल्झिएर रहेको ४०/५० हजार रुपैयाँ जम्मा हुन्थ्यो । जबकि त्यतिबेला धार्मिक पर्यटनको समय पनि थिएन । मैले नै भेटीघाटी बाँडेर खाने चलनको अन्त्य गरेर राज्य कोषमा जम्मा गर्ने कामको सुरुआत गरेको हुँ ।

पशुपतिनाथबाट धर्म हराइरहेको छ
जसरी लुटपाट भइरहेको छ त्यसले गर्दा दिनानुदिन पशुपतिनाथबाट धर्म हराइरहेको छ । धर्मका लागि पवित्रता, निष्कपटता, आचार, व्यवहार, नियम, निष्ठा आदि चाहिन्छ । कुनै भट्टले यति दक्षिणा नदिएसम्म पूजै गर्दिन भन्छ भने त्यहाँ कसरी धर्म रहन्छ ? भट्टहरुको व्यवहारले पशुपतिमा धर्म जीर्ण बनिरहेको छ । किनभने धर्मका लागि माथि भनिएका कुरा हुनुपर्छ । मानिसहरु आज मेरो जन्म दिनवस हो, बाँकी जीवन राम्रो होस भनेर पूजा गर्न जान्छ भने धर्मलाई पैसामा जोड्ने काम गरेपछि उसको जन्मदिन बिग्रिएन ? पशुपतिनाथको भट्टले नेपालीहरुको जन्मदिन  बिगारिरहेको छ । नेपालीहरुको साइत बिग्रिइरहेको छ । अस्पतालमा बिरामी छ निको भएन अनि हे भगवान भनेर मान्छे जान्छ । अनि सबै कुरा पैसामा हुन्छ भने के भगवान प्रसन्न हुनुहोला र उसको कामना पूरा होला ?
भण्डारी पनि उस्तै
भण्डारीहरु झन मालामाल छन् । भट्टका भन्दा पनि बढी सुविधा उनीहरु लिइरहेका छन् । उनीहरु भट्टलाई जसरी पनि टिकाउन लागिपरेका छन् । संस्कृतमा एउटा उखान छ, ‘उष्टा्रदीनां विवाहेषु गीतं गायन्ति गर्धभा:, परस्परं प्रशंसन्ति अहो रूपम् अहो ध्वनि:  । यसको अर्थ हुन्छ ‘उँटको बिहेमा गधाहरु बाजा बजाउन र गीत गाउन जन्ति गएछन् । गधाले उँटलाई भनेछ आहा तपाईंको कस्तो राम्रो रुप । उँटले गधालाई भन्यो वाह तपाईको क्या राम्रो स्वर । उँटको रुप र गधाको स्वर कति राम्रो हुन्छ आफैं विचार गर्नुस्  । पशुपतिमा भट्ट र भण्डारीको सम्बन्ध त्यही हो । किनभने उनीहरुको स्वार्थ एउटै हो । जसरी हुन्छ पहुपतिनाथमा ब्रम्हलुट मच्चाउने , धर्म नाश गर्ने ।

यसकारण पशुपतिको पुजारी भएको थिएँ
पशुपतिनाथमा सदियौंदेखि हजारौं नेपाली ब्राम्हण १०/२० रुपैयाँ र दुई माना चामलका लागि रुमाल थापेर बस्दै आएका छन् । त्यो पनि भित्र होइन, मन्दिरबाहिर । तर भित्र भारतीय मठाधीसहरुको लुटतन्त्र छ । पशुपतिको इतिहासमा किम्बदन्तीअनुसार हजारौं वर्ष पहिले राजोपाद्ययायहरु नेपाली पूजारी थिए । तर त्यो कुरा लिखित छैन । पशुपतिमा नेपाली पुजारी जानुमा दुईवटा कारण थिए । पहिलो नेपालमा पनि पशुपतिनाथका बारेमा जानकार व्यक्ति छन् भन्ने पुष्टि गर्न ।

पशुपतिको पूजाविधि, तन्त्र, मन्त्र, यन्त्र, मुद्रा, विनियोग यी विषय जो छन्, यी जान्ने मान्छे नेपालमै मान्छे भन्ने सिद्ध गर्ने । दोस्रो कुरा पशुपतिनाथभित्र चढाइएको भेटी दामासाहीले बाँडेर खाने चलन अन्त्य गर्ने त्यो काम मैले गर्न सकें त्यसमा मलाई गर्व छ । पशुपतिमा जम्मा भएको भेटी समाजमा पिछडिएका वर्ग, सामाजिक कार्य, विश्वविद्यालय स्थापना,  धार्मिक पर्यटन आदिमा खर्च गर्नुपथ्र्यो, त्यो नभएर सधैं लुट मच्चाउने गरिएको छ ।
नेपाली पूजारी नियुक्त भएपछि त्यहाँ कति भेटी जम्मा हुँदोरहेछ भन्ने कुरा बाहिर आयो । भेटीघाटी पनि जम्मा भयो र नेपालीले पूजा पनि गर्न सक्यो भनेपछि एकथरि राजनीतिक व्यक्तिहरुलाई सह्य भएन । नेपालीले नै पशुपतिको पूजा गर्न सक्छ भने बाहिरबाट ल्याएका मान्छेलाई पूजा गर्न लगाएर द्रब्यको दुरुपयोग किन गर्ने ? मलाई के लाग्छ भने कुनै बेला नेपालीले पनि पशुपतिनाथको पूजा गरेको थियो भन्ने इतिहास मेटाउने कोसिस हुन सक्छ ।

नेपालीले पशुपतिको पूजाआजा गर्नु र भेटीघाटी राज्यकोषमा जम्मा गर्नु भारतीय भट्टहरुका लागि सह्य भएको थिएन । जब नेपाली पशुपतिमा पस्यो त्यसपछि त्यतिधेरै पैसा जम्मा हुँदोरहेछ भन्ने कुरा बाहिर सबैलाई थाहा भयो । जब पैसा धेरै जम्मा भयो त्यसपछि नेपालको सरकारले नै लोकलाजका लागि भारतीय भट्टहरुले दामासाहीले बाँडेर खाने प्रचलन अन्त्य गर्‍यो र राज्यकोषमा जम्मा हुन थाल्यो ।

नेपाली कर्मचारीले सीमाभन्दा बढी कमाई गर्दा कर तिर्नुपर्छ । तर भारतीय भट्टहरुले कर तिर्दैनन् । डेढ लाखदेखि साढे चार लाख तलब खाने भट्टहरु त्यहाँ छन् । तलब मात्र होइन सार्वजनिक बिदाका दिन तलबको प्रतिशतका आधारमा ओभरटाइम लिने गर्दछन् । उसले छाडेर जाने बेलामा उपदानको समेत व्यवस्था गरिएको छ ।

पशुपति क्षेत्र विकास कोष निरीह
पशुपति क्षेत्र विकास कोषले त्यहाँ रहेका खण्डहर संरचनालाई पुननिर्माण गर्ने काम गरेको छैन । गजुरहरु मठ मन्दिरहरु चोरिएका छन् । पुरातात्विक अवशेषहरु हराइरहेका छन् । ती सामानहरु कहाँ जान्छन् । कसले लैजान्छ कसैलाई चासो छैन । बागतिमा कसरी सफा पानी बग्छ भन्नेमा कुनै चासो छैन । काठमाण्डु आज हामीले नेपाल उपत्यका भन्छौं त्यो बागमति सभ्यतामा आधारित हो । तीर्थात्रीहरुको बासस्थान, उनीहरुलाई दिसा पिसाबका लागि शौचालयको व्यवस्था छैन । उनीहरु बागमतिमा दिसा पिसाब गर्न बाध्य छन् ।

पशुपति क्षेत्र विकास कोषको ध्याउन्न भनेको भरतीय भट्टहरुलाई कसरी टिकाइरहने भन्ने मात्र छ । त्यसको कारण भनेको अर्थ राजनीतिक हो । त्यहाँको अरबौं रकम मिलेर लुटपाट भइरहेको छ । के कारणले हो यस्तो भइरहेको छ भन्ने पश्न उठाउन सकिरहेका छैनन् । मिडियामा यस्तो भएको छ भन्ने समाचार त आएको छ । तर किन त्यसमाथि प्रश्न उठाउने काम भएको छैन ? अहिले उनीहरुले गलत तरिकाले अरबौं रुपैयाँ कुम्ल्याइरहेका छन् ।

सरकार र पशुपति क्षेत्र विकास कोष मुक दर्शक भएर बसिरहेको छ । पशुपति धर्म संस्कृतिको प्रतिनिधि स्थान मात्र होइन कला, सभ्यता, र पूर्खाको समेत प्रतिनिधि हो । त्यो मानव सभ्यता विकासको एउटा परिचायक हो । त्यो बन्नका लागि केही वर्ष वा केही सय वर्ष होइन । हजारौं वर्ष लागेको छ ।

पशुपतिको पुजारी नेपाली हुनुपर्छ
यो देशमा रहेको धार्मिक संस्थामा बसेर पूजा गर्न पाउनु नेपाली ब्राम्हणहरुको अधिकार हो । भारतमा मोदी सरकार आएको छ । उनले आफ्नो देशमा धार्मिक राष्ट्रवादको कुरा गर्दै आएका छन् । त्यो कुरा नेपालका हकमा पनि त लागू होला नि । नेपाल देश नै हुन सकिरहेको छैन । पहिला हामीले नेपाललाई देश बनाउनुपर्छ । भारतीय भट्टले यो भारत हो भनेर संकल्प लिन्छन् । यो कुरा राष्ट्रवादी नेपालीका लागि सह्य कुरा हो ? नेपालको मन्दिरमा भारत हो भन्न मिल्छ ? नेपालमा जुन वेदको पढाई लेखाई हुँदैन, कृष्ण यजुर्वेदको तैत्तिरीय शाखाको दुहाई दिएर पूजाआजा गरिन्छ । नेपाली समाजमा कहीं पनि यसको मान्यता छैन । नेपालमा शुक्लयजुर्वेद, माध्यन्दिनीय शाखाको प्रभाव छ ।
मोदीले सोचुन
भारतमा नरेन्द्र मोदीको नेतृत्वमा जुन नयाँ सरकार बन्दै छ, उसले नेपाललाई सांस्कृतिक दासताको युगमा राखिरहनुभएन । किनभने पशुपतिनाथमा जो भारतीय भट्टहरु छन् उनीहरुले धर्मका नाममा लुटपाट गरिरहेका छन् ।
नेपालीको धर्म र संकृतिका केही पक्षहरु भारतसँग मिल्न सक्छ । तर नेपालीहरुले न धर्म, न संस्कृति, जान्दछन् भन्ने सन्देश गइरहेको छ । नेपालीहरु आफ्नो मन्दिरमा पूजासमेत गर्न जान्दैनन् भन्ने भइरहेको छ । मानवता र पर्यावरण जोगाउन पशुपतिनाथमा पूजा हुनुपर्‍यो । अहिले विश्वमा मानवता र पर्यावरणमा ह्रास आइरहेको छ । नेपालीको मन्दिरमा नेपालीलाई नै पूजा गर्न दिइयोस् । यसलाई राजनीतिक र कुटनीतक दुवै हिसाबले मिलेर कसरी पूजा गर्ने त्यस्तो व्यवस्थामा हामी जानुपर्छ ।

झण्डाका कारण अस्थिर भयो नेपाल  
लगभग १० वर्ष अगाडि मैले अध्ययन सुरु गरेको थिएँ । म अहिले निष्कर्ष नजिक पुगेको छु । त्यसको कारण नेपालको राष्ट्रिय झण्डामा केही गढबढी छ । यसअघि विवाद भयो । केही मान्छेहरुले सूर्यवंशी र चन्द्रवंशी राजाहरुसँग सम्बन्धित चिह्न र दिनरातका प्रतीक सूर्य र चन्द्रसँग जोडेर हेरे । तर समस्या कहाँ छ भने झण्डामा रहेको चन्द्र र सूर्यको किरणको जुन अन्तर देखा पर्छ त्यसले गर्दा नेपालमा संघर्ष र अशान्ति हुँदै आएको हो । ‘ग्रहादीनाञ्च सर्वेषां भवेच्चन्द्र बलं सदा’ यसको तात्पर्य के भने ग्रहहरुमा सधैं चन्द्रबल बलवान हुन्छ । नेपालको राष्ट्रिय झण्डामा चन्दमा कमजोर अथवा आधा छ । पूर्ण चन्द्र छैन । आधा चन्द्रको कुनै महत्व हुँदैन ।

अर्को कमजोरी पहिला सूर्य हुन्छ, अनि चन्द्र हुन्छ । धर्मले पनि मानेको छ सूर्यलाई हरेक दिन तीनपटक अर्घ दिइन्छ । चन्द्रमालाई सधैं अर्घ दिइन्न । वर्षमा कुनै कुनै दिन मात्र अर्घ दिइन्छ । नेपालको झण्डामा सूर्यलाई तल र चन्द्रमालाई माथि राखिएको छ । त्यो उल्ट्याउनुपर्छ । यही कारणले नेपालमा अशान्ति र संघर्ष भइरहेको छ । यो कुरालाई गम्भीरतापूर्वक लिएर सच्याउने काम भएन भने फेरि यो संविधानसभाले बनाउने संविधान दिगो हुने छैन ।

(पशुपतिका तत्कालिन नेपाली पुजारी डा. विष्णु दाहालसँगको कुराकानीमा आधारित )

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us