काठमाण्डु, ६ जेठ– एकीकृत माओवादीमा विराटनगर राष्ट्रिय सम्मेलनपछि उत्पन्न सांगठनिक समस्या तत्कालका लागि समाधान भएको छ ।

असन्तुष्ट बाबुराम भट्टराई पक्षको मागअनुसार केन्द्रीय समिति १ सय ४९ सदस्यीय बन्ने भएपछि एमाओवादी विवाद तत्कालका लागि मिलेको हो । विराटनगर सम्मेलनले १ सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको भए पनि दुई सदस्य पछि थप्ने गरी खाली राखिएको छ ।
कोटेश्वर पेरिसडाँडास्थित पार्टी कार्यालयमा मंगलबार बसेको केन्द्रीय समिति बैठकले समिति विस्तार गरी १ सय ४९ सदस्यीय बनाउने निर्णय गरेको हो । आफ्नो पक्षलाई सम्मानजनक स्थान नदिइएको भन्दै नेता बाबुराम भट्टराई समूहका १५ जनाले विराटनगर राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समितिमा बस्न अस्वीकार गरेपछि एमाओवादीमा विवाद चुलिएको थियो ।
विस्तारित केन्द्रीय समितिमा भट्टराई पक्षका १४ र संस्थापनका ३६ जना थपिएका छन् । उनले केन्द्रीय समितिमा थप्ने भन्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ५१ जनाको सूची बुझाए थिए । यद्यपि केही केन्द्रीय सदस्यले त्यसमा विरोध जनाएका थिए । केन्द्रीय समितिमा भट्टराई पक्षका लीलबहादुर थापा, स्वनामसिंह स्याङतान, देवेन्द्र पराजुलीलगायत थपिएका छन् ।
यस्तै संस्थापनका सूर्यमान दोङ, आरसी शर्मा, दावा लामा, चित्रबहादुर श्रेष्ठ, पेशल खतिवडा, सन्दीप कार्की, कालीबहादुर खाम, धनबहादुर मास्की, ज्वालाकुमारी साह, क्षेत्रबहादुर श्रेष्ठ, नारायणी शर्मा, राजकाजी गुरुङ, श्रीप्रसाद जगेबु, विष्णुबहादु वाईवा र लक्की शेर्पालगायत थपिएका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता भट्टराईबीच सांगठनिक विवाद मिलाउन भएको अनौपचारिक सहमति केन्द्रीय समितिले अनुमोदन गरेको छ । दुई पक्षबीच पदाधिकारीमा वरिष्ठ नेताको हैसियतसहित भट्टराई र कृष्णबहादुर महरालाई थप्ने र टोपबहादुर रायमाझीलाई संसदीय दलको उपनेता बनाउने तथा केन्द्रीय समिति विस्तार गर्ने सहमति भएको थियो ।
यसैबीच आफ्नो माग सम्बोधन भएपछि भट्टराई पक्ष केन्द्रीय समितिमा फर्कने भएको छ । नेता देवेन्द्र पौडेलले केन्द्रीय समिति विस्तारको निर्णय सकारात्मक भएको बताए ।