
काठमाण्डु, ४ जेठ – प्रधानमन्त्री सुशील कोइराला र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच आज भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान निर्माणलगायत विषयमा कुराकानी भएको थियो ।
शनिबारदेखि प्रमुख राजनीतिक दलका नेतासँग छुट्टाछुट्टै छलफल गर्नुभएका प्रधानमन्त्री कोइरालाले आज व्यवस्थापिका–संसद्का प्रमुख विपक्षी दलका नेतासँग छलफल गरेका हुन् ।
छलफलमा विशेषगरी मुलुकको पछिल्लो राजनीतिक अवस्था र संविधानसभामा मनोनयन गरिने २६ जनाको विषयमा कुरा भएको थियो ।
संविधान निर्माण प्रक्रियालाई कसरी गति दिने र शान्ति प्रक्रियाका बाँकी रहेका काम पूरा गर्ने विषयमा कुरा भएको प्रधानमन्त्री कोइरालाका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए ।
शान्ति प्रक्रियाको साझेदार शक्ति हुनाको नाताले सबै विषयलाई सहमतिमा नै अगाडि बढाउनुपर्ने तथा जनअपेक्षाअनुसार संविधान निर्माण प्रक्रियालाई गति दिन सरकार र विपक्षी दल मिलेर जानुपर्ने विषय नै छलफलको प्रमुख विषय रहेको थियो ।