
–सुरेन्द्रबहादुर नेपाली
काठमाडौँ, ३ जेठ – भारतको सङ्घीय संसदको तल्लो सभा लोकसभाको निर्वाचन परिणामको घोषणासँगै भारतीय राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भएको छ । लोकसभाको यो सोह्रौँ निर्वाचनले दशकयता देखिको भारतीय काँग्रेसको नेतृत्वमा परिवर्तनमात्र नभई नयाँ राजनीतिक यात्राकै थालनीको सम्भावनालाई पनि बढाइदिएको छ ।
दक्षिण एसियाली राजनीतिमा अब्बल स्थानमा रहने भारतको विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक अभ्यासका रुपमा चिनिने यस आमनिर्वाचनपछिको परिवर्तनले प्रायः अस्थिर राजनीतिको पर्याय बन्ने गरेको सिंगो दक्षिण एसियाली क्षेत्रमा राजनीतिक स्थिरताका लागि योगदान दिनसक्ने विश्लेषण पनि गर्न थालिएको छ ।
त्यसैले पनि शुक्रबारपछिको भारतीय परिवर्तनलाई यस क्षेत्रका राजनीतिक दल र सरकारहरुले सुक्ष्म रुपमा अध्ययन गरिरहेका हुनसक्छन् । भारतमा सुरु भएको यस प्रायः अपेक्षित नयाँ समीकरणले आ आफ्ना देशको वर्तमान राजनीतिमा के कस्तो प्रभाव पार्ला भनेर छिमेकीले हेर्नु पनि स्वभाविकै हो ।
भारतमा यही अप्रिल ७ देखि मे १२ सम्म नौ चरणमा भएको आमनिर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) ले नेतृत्व गरेको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) ले ५४३ स्थानमध्ये ३३६ स्थानमा विजय हासिल गरेको छ । सो परिणामको सार्वजनिकीकरणसँगै ४० डिग्रीभन्दा बढीको नयाँ दिल्लीको तापक्रममा थप सरगर्मी बढाइदिएको छ ।
प्रारम्भिक सर्वेक्षणहरुले यस गठबन्धनलाई आगामी सरकार निर्माणको म्यान्डेट दिने अपेक्षा गरिएको भएपनि भाजपा एक्लैलाई जनताले दिएको यो जनादेशका कारण पनि अबको भारतीय राजनीतिक समीकरणको चासोप्रति भारतीय नागरिक, त्यहाँका विपक्षी दलहरुमात्र नभएर अरु छिमेकी मुलुकहरु पनि तनिएका हुन् ।
विश्वको ठूलो प्रजातन्त्र मानिएको यस देशको यो पछिल्लो प्रजातान्त्रिक अभ्यासले एउटा सामान्य चिया पसलेका छोरा ६३ वर्षीय नरेन्द्र मोदीलाई करिस्मा, योजना र व्यवस्थापन गर्नसक्ने क्षमताका आधारमा करिब एक अर्ब २१ करोड जनताका प्रधानमन्त्रीको रूपमा आसिन गराएको छ ।
त्यसैले अबको राजनीतिक नेतृत्वमा जनताले कुनैपनि राजनीतिक दलको इतिहास भन्दापनि नेताको अहिलेकै कार्य कुशलता हेर्छन् र इतिहास भजाएर मात्र अब पत्याउन सक्दैनन् भन्ने सन्देश पनि दिएका छन् । मोदीलाई भारतीय जनताले रोजेको अब खुसीका दिन आउने छन् भन्ने नाराको भरोसामा पनि हो । आर्थिक अविकास र भ्रष्टाचारले जरा गाडिसकेको भारतीय समाजमा ती खुसीका दिन ल्याउन अब मोदीका लागि पनि फलामका च्युरा चपाउनुपर्ने नै छ ।
भारतमा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भएपछि सन् १९८४ मा भएको आठौँ लोकसभाको निर्वाचनका लागि तत्कालीन ५३३ स्थानमध्ये ४१४ स्थानमार्फत कङ्ग्रेस (आई) ले इन्दिरापुत्र राजिव गान्धीको नेतृत्वमा बहुमतको विजय हासिल गरेको थियो भने त्यसपछि यस सोह्रौँ लोकसभाको आमनिर्वाचनले कुनै एक दल अर्थात भाजपालाई २८२ स्थानको बहुमत दिएको छ । यसअघिको लोकसभामा भारतीय जनता पार्टीको ११६ स्थान रहेको थियो ।
यस आमनिर्वाचनले काङ्ग्रेस पार्टीको नेतृत्वमा रहेको संयुक्त प्रगतिशील गठबन्धन (युपीए) लाई ५९ स्थानमा सीमित पारिदिएको छ । यसअघिको पन्ध्रौँ लोकसभाको आमनिर्वाचनमा युपीएले २२९ स्थान हासिल गरेको थियो र त्यसमा कङ्ग्रेस पार्टीको स्थान २०६ रहेको थियो भने यस आमनिर्वाचनले कङ्ग्रेस पार्टीलाई ४४ स्थान उपलब्ध गराएको छ ।
कङ्ग्रेस पार्टीका अध्यक्ष तथा उपाध्यक्ष सोनिया तथा राहुल गान्धीले यस निर्वाचनमा आफ्नो दलको पराजय स्वीकार गर्दै आफ्नो जिम्मेवारी पनि स्वीकार गर्नुभएको छ । भारतको स्वतन्त्रतापछिको राजनीतिमा गान्धी–नेहरू वंश परम्पराको नेतृत्वमा निकै लामो प्रभूत्व रहेको छ र यस वंशपरम्पराले मुलुकलाई तीन प्रधानमन्त्री दिएको छ । यसो भए पनि केही विश्लेषकले यस निर्वाचनबाट भारतमा वंशपरम्पराको राजनीतिको अन्त्य भएको अनुमान गरेका छन् ।
यस निर्वाचनमा एनडीएमा आवद्ध तेलगु देशम पार्टीले १६ स्थान, शिवसेनाले १८ स्थान, शिरोमणि अकाली दलले ४ स्थान, एआईएनआरसीले १ स्थान, अपना दलले २ स्थान, लोक जनशक्ति पार्टीले ६ स्थान, नेसनल पिपुल्स पार्टीले १ स्थान, पीएमकेले १ स्थान, नागा पिपुल्स फ्रन्टले १ स्थान र राष्ट्रिय लोक समता पार्टीले ३ स्थान प्राप्त गरेका छन् ।
अर्कोतिर युपीएसँग आवद्ध नेसनालिस्ट कङ्ग्रेस पार्टीले ६ स्थान, राष्ट्रिय जनता दलले ४ स्थान, इन्डियन युनियन मुस्लिम लिगले २ स्थान, झारखण्ड मुक्ति मोर्चाले २ स्थान, केरला कंग्रेस (एम) ले १ स्थान र रिभोलुसनरी सोसियलिस्ट पार्टीले १ स्थान प्राप्त गरेका छन् ।
यसैगरी अल इन्डिया तृणमूल कङ्ग्रेसले ३४ स्थान, एआईएडीएमकेले ३७ स्थान, समाजवादी पार्टीले ५ स्थान, अल इन्डिया युनाइटेड डेमोक्र्याटिक फ्रन्टले ३ स्थान, बिजु जनता दलले २०, स्थान, कम्युनिस्ट पार्टी अफ इन्डिया (एम)ले ९ स्थान, स्वतन्त्रले ३ स्थान, इन्डियन नेसनल लोक दलले २ स्थान, जनता दल (एस) २ स्थान, जनता दल (यु) ले २ स्थान, सिक्किम डेमोक्र्याटिक फ्रन्टले १ स्थान, तेलङ्गना राष्ट्रिय समितिले १२ स्थान, युवाजन श्रमिक रिथु कङ्ग्रेस पार्टीले ९ स्थान प्राप्त गरेका छन् ।
पहिलोपटक राष्ट्रिय आमनिर्वाचनमा प्रवेश गरेको अरविन्द केजरीवालको आम आदमी पार्टीले ४ स्थान प्राप्त गरेको छ । भारतमा यस आमनिर्वाचनमा सबैभन्दा बढी विद्यमान सरकारको विरोधमा मत खसेको छ । यसलाई जनतामा देखिएको सत्तापरिवर्तनको चाहना, भ्रष्टाचार तथा मन्द अर्थतन्त्रको विरोधमा क्रोध र मोदीप्रतिको आशाको सङ्केतको रूपमा हेरिएको छ ।
यस निर्वाचनले नरेन्द्र मोदीलाई भारतको स्वतन्त्रतापछि जन्मेका प्रथम र चौँधौँ प्रधानमन्त्रीको रूपमा स्थापना गरेको छ भने सीमान्त जातिबाट आफ्नै क्षमतामा मुलुकको सर्वोच्च राजनीतिक पदमा पुग्ने व्यक्ति बनाएको छ ।
उनी कहिल्यै सङ्घीय सरकारमा नपुगेका र राज्यको नेतृत्वबाटै प्रधानमन्त्री पदमा पुग्ने व्यक्तिको रूपमा पनि स्थापित भएका छन् । सन् १९९१ मा अर्थमन्त्री हुँदा आर्थिक सुधार आरम्भ गर्ने प्रधानमन्त्री मनमोहन सिंहले शुक्रबार नै मोदीलाई विजयका लागि बधाइ दिएका छन् भने उनले शनिबार राजिनामा दिएका छन् ।
त्यसो त निर्वाचनका अभियानमा सिंहले मोदीको विजय मुलुकका लागि ठूलो दुर्घटना हुने धारणा व्यक्त गरेका थिए । सिंहको आर्थिक सुधारले भारतीय अर्थतन्त्रलाई खुला बनाइ विश्वव्यापी पूँजी लगानीको केन्द्रको रूपमा स्थापना गरिदिएको थियो भने पछिल्लो समयमा यो अर्थतन्त्र भ्रष्टाचार र काण्डबाट प्रभावित तथा मन्द भएको बताइन्छ ।
कङ्ग्रेस पार्टीका अध्यक्ष सोनिया गान्धीद्वारा सन् २००४ मा अकस्मात् प्रधानमन्त्री पदमा स्थापित र गठबन्धन सरकारको नेतृत्व गरेका स्वच्छ छविका सिंह यी काण्ड नियन्त्रण गर्न असफल भएको आरोप लगाउने गरिन्छ ।
यसअघि सन् २००२ को दङ्गा नियन्त्रण गर्न नसकेको दोष लगाउँदै आफ्नो मुलुकमा प्रवेशाज्ञा दिन अस्वीकार गर्ने अमेरिकाका राष्ट्रपति बाराक ओबामाले मोदीलाई विजयमा वधाइ दिँदै उनलाई अमेरिका भ्रमणको निमन्त्रणा दिएका छन् ।
उक्त दङ्गामा एक हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो भने मर्नेमा प्रायः मुसलमान परेको बताइएको छ । मोदीले उक्त घटनामा आफ्नो कुनै दोष नभएको बताएका छन् तर पनि उनलाई यसको दागले सँधै पछ्याउने गरेको छ । पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले पनि उनँलाई वधाइ दिएका छन् ।
यस निर्वाचनमा व्यापारिक समुदायले नरेन्द्र मोदीलाई प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गरेको आरोप प्रतिपक्षीहरूले लगाएका थिए । यी सबैबीच प्रमुख सेयरबजार सूचकाङ्क कीर्तिमान कायम गर्ने तरिकाले ६ प्रतिशत बढेको देखिएको छ ।
यसका साथमा भारतीय रूपैयाँ पनि अमेरिकी डलरको तुलनामा केही बलियो बनेको छ । निर्वाचन अभियानको क्रममा मोदीले आफूले वाणिज्यको क्षेत्रमा न्यून नियन्त्रण, सानो सरकार र सुशासन दिने बताएका थिए र यो नै व्यापारिक समुदायका लागि सबैभन्दा उचित आर्थिक नीति भएको अर्थशास्त्रीहरूले बताएका छन् ।
भारतीय जनता पार्टी आफैँले बहुमत प्राप्त गरेको संसदमा यी नीतिमा काम गर्न मोदीलाई कठिन नहुने प्रशासकहरूको राय छ । उनले गुजरातमा १२ वर्षसम्म प्राप्त गरेको व्यवस्थापनमा सफलताको अनुभव केन्द्रमा उपयोग गर्ने धेरैको अनुमान र अपेक्षा छ । अर्कोतिर उनको गठबन्धनको संसदको माथिल्लो सभामा बहुमत नभएका कारण उनले कानुन पारित गर्ने कुरामा समस्या भोग्नुपर्ने देखिन्छ ।
भारतलाई विश्वको सबैभन्दा ठूलो प्रजातन्त्रको नाम दिँदा यसको निर्वाचन पनि सबैभन्दा बृहत् छ । पाँच सातासम्म निरन्तर रूपमा मतदान भएको यस अभियानमा ८१ करोड ४० लाख मतदातामध्ये ५५ करोड जनताले हिमालयदेखि समुद्रको किनारसम्म मतदान गरेका छन र यसपटक मतदान प्रतिशत कीर्तिमानयुक्त ६६ प्रतिशत बनेको छ ।
रायटर्सका अनुसार यस निर्वाचन अभियानमा मोदीले ४५७ वटा सभालाई सम्बोधन गर्न तीन लाख किलोमिटर उडान गर्नुभएको छ । यस आम निर्वाचनमा आठ हजार २५१ उम्मेदवार रहेका थिए ।
कुनै पनि मुलुकको आर्थिक विकासको आधारभूत स्थान त्यसका मध्यमवर्गीय परिवारको आकार र अवस्था हुने गर्छ । वर्तमान भारतमा विस्तार हुँदै गएका यी परिवार भ्रष्टाचार, खस्कदो खरीद क्षमता तथा नोकरीको अभावमा पीडित बनेको देखिन्छ ।
गुजरातमा उल्लेखनीय आर्थिक सफलतापछि सबैको साथ सबैको विकासको नारा लिएर अगाडि बढ्नुभएका मोदीले यस निर्वाचनपछि भ्रष्टाचारमुक्त राम्रो दिन आउने सपना यी परिवारलाई बाडेकाछन् र यसै कारण पनि उनीप्रति उनीहरूको आकर्षण बढेको देखिएको छ । उनीहरूले मतमार्फत मोदीसँग आफू र आफ्नो मुलुकको समृद्धिको माग गरेको निर्वाचन तथा राजनीतिक पण्डितहरूको राय छ ।
यस निर्वाचनमा भारतीय जनता पार्टीको पक्षमा प्राप्त मतलाई मोदीलाई प्राप्त मतको रूपमा भारतीय आमसञ्चारले हेरेका छन् । यो उनको लडाकूको छविमा रहेको नेतृत्वशैली र राम्रो भविष्यको आश्वासनमा आधारित भएको र यस अधिमा जनताले मोदीका पक्षमा वंशपरम्परा मात्र नभएर जाति र धर्मका सबै बाधालाई तोडिदिएको उनीहरूको धारणा छ ।
यस अवधिमा भारतीय राजनीतिका परम्परागत सबै बाधा तथा परिभाषा तोडिएका छन् र मोदीलाई टुटफुटको राजनीति नगर्न पर्याप्त स्थान प्राप्त भएको छ । यस निर्वाचनमा मोदीले विद्युतीय आमसञ्चार र इन्टरनेटलाई राम्रोसँग प्रयोग गरेकोे यस क्षेत्रका विशेषज्ञले बताएका छन् ।
मोदीले पनि यी मध्यम वर्गीय परिवारलाई ऊर्जा, बाटो तथा रेलका परियोजनामा लगानी खुला गर्ने, कर तथा श्रम बजारमा सुधार गर्ने, विदेशी लगानी बढाउने तथा हरेक वर्ष एक करोड नोकरी सिर्जना गर्ने आश्वासन दिएका छन् ।
निर्वाचन अभियानका प्रत्येक सभामा मोदीले गुजरातको आफ्नो उपलब्धिलाई हेर्न र आफूलाई विश्वास गर्न आग्रह गरेका छन् । के उनी आफूप्रति जनताको विश्वास कायम गर्न सक्षम हुनेछन् त ? हेर्न बाँकी छ ।