
काठमाण्डु, १७ साउन– कोरोना भाइरस (कोभिड–१९) महामारीको इपिसेन्टर बन्दै गएको पर्सामा सांसदसहित थप ६४ जनामा संक्रमण पुष्टि भएको छ ।
पर्सा क्षेत्र नम्बर–१ का सांसद प्रदीप यादव, उनका सवारी चालक र अंगरक्षकसहित ६४ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ । सांसद यादवलाई वीरगञ्ज महानगर–१३ राधेमाइ टोलस्थित आफनै निवासमा होम आइसोलेसनमा राखिएको छ ।
खोकी लागेपछि यादवले शुक्रबार अस्पताल पुगेर पीसीआर परीक्षणका लागि स्वाब संकलन गराएका थिए । यसअघि बिहीबार मात्र वीरगन्ज महानगरपालिकाका प्रमुख विजय सरावगीलाई कोरोना संक्रमण भएको थियो ।
नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले शुक्रबार राति संक्रमण पुष्टि भएका ६४ मध्ये ६१ पुरूष र ३ जना महिला रहेको जानकारी दिए ।