
काठमाण्डु, १ जेठ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला विकास समिति, काठमाडौंअन्तर्गतको जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर शालिकराम देवकोटा र नायब सुब्बा रुकु खत्रीलाई घुस लिँदै गर्दा पक्राउ गरेको छ ।
आयोगको विशेष टोलीले उनीहरूलाई नगद रु एक लाख घुस लिइरहेको अवस्थामा आज पक्राउ गरेको हो । ब्रदर्श निर्माण सेवालाई ‘‘घ’’ श्रेणीको निर्माण अनुमतिपत्र प्रदान गरेबापत इन्जिनियर देवकोटालगायतले घुस मागेको भन्ने विशेष सूचनाको आधारमा अख्तियारको टोलीले उनको कार्यकक्षमा छापा मारी घुस बापत लेनदेन भएको नगद बरामद गरेको आयोगका प्रवक्ता श्रीधर सापकोटाले बताउनुभयोे ।
साथै उक्त कम्पनी दर्ता प्रक्रियामा घुस लिएको अभियोगमा घरेलु तथा साना उद्योग त्रिपुरेश्वरका कार्यकारी प्रमुखको हैसियतमा कार्यरत शाखा अधिकृत वासुदेव सिंखडा र नायब सुब्बा सरस्वती श्रेष्ठलाई समेत आयोगको टोलीले आजै पक्राउ गरेको छ । पक्राउ परेका सबैलाई आयोगले हिरासतमा राखेको छ ।