
काठमाण्डु, ३१ वैशाख – प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई भगवान् गौतम बुद्धको जन्म जयन्तीका रुपमा मनाउने गरिन्छ ।
गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको यो दिनलाई त्रिसंयोग दिवसका रुपमा समेत मनाउने गरिन्छ ।
इसापूर्व ५६३ अर्थात आजभन्दा २५५८ वर्ष पहिले वैशाख शुक्ल पूर्णिमाका दिन हालको नेपालको लुम्बिनी भगवान् गौतम बुद्धको जन्म भएको थियो ।
राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा रानी वन क्रीडा गर्दै गरेका अवस्थामा लुम्बिनी उद्यानमा गौतमबुद्धको जन्म भएको बौद्ध ग्रन्थ ललितविस्तर सूत्रमा व्याख्या गरिएको छ ।
राजा शुद्धोधनको दरबारमा राजकुमार भएर रहेका सिद्धार्थले मानिसले पाएका विभिन्न दुःख देखेर त्यसबाट मानव जातिलाई छुट्कारा दिने उद्देश्यले २९ वर्षको उमेरमा दरबारको सुख छोडी तपस्या गर्न निस्केका थिए ।
ईसा पूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाकै दिन उनले बुद्धगयास्थित बोधिवृक्ष पीपलको रुख मुनि बुद्धत्व प्राप्त गरेका थिए । बुद्धत्व प्राप्त गरेपछि नै सिद्धार्थ गौतमलाई गौतम बुद्ध भन्न थालियो । चार आर्य सत्य बुझ्ने व्यक्तिलाई नै बुद्ध भनिन्छ ।
भव तृष्णा, विभव तृष्णा र काम तृष्णाका कारणले दुःखको उत्पत्ति हुन्छ र त्यसको निरोधका लागि निर्वाण प्राप्त गर्नुपर्दछ भन्ने बुद्ध धर्मको सार हो । दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने ८ वटा मार्ग छन् भनी गौतम बुद्धले ज्ञान दिएका छन् ।
आजको दिन नेपाल सरकारले सार्वजनिक विदा समेत दिने गर्दछ । बुद्ध जन्मिएको नेपाललाई अझै विश्व स्तरमा परिचित गराउने उद्देश्यले प्रधानमन्त्री सुशील कोइरालाले नेपाल र एसियाका भारत, वर्मा, श्रीलंका, थाइल्याण्ड, हङकङ, मंगोलिया, भूटान र सिंगापुर लगायतका राष्ट्रहरूलाई समेटेर बौद्ध सर्किटको स्थापना गर्न एक अन्तर्राष्ट्रिय सम्मेलनमा गरेको प्रस्तावलाई अन्तराष्ट्रिय समुदायले पनि समर्थन गरेको छ ।