घाँस काट्दा लडेकी महिलाको उद्धारमा गृह मन्त्रालयले पठायो हेलिकोप्टर

काठमाण्डु टुडे २०७७ वैशाख १३ गते १६:५७ मा प्रकाशित

बाजुरा, १३ वैशाख– घाँस काट्दा रुखबाट लडेर मेरुदण्ड भाँच्चिएकी महिलाको उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएको छ । बाजुराको बडिमालिका नगरपालिका(८ बस्ने ३५ वर्षीया धनमती रावलको बिहीबार घासँ काट्दा रुखबाट लडेर मेरुदण्ड भाँच्चिएको थियो ।

नेपाल सरकार गृह मन्त्रालयको सहयोगमा नेपाली सेनाको हेलिकप्टरबाट ३५ वर्षीय रावलको शनिबार बिहान काठमाडौँको ट्रमा सेन्टरमा उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले जानकारी दिए ।

बिहीबार पाला काट्नेक्रममा लडेर मेरुदण्ड भाँचिएकी धनमती रावललाई जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि उपचारका लागि काठमाण्डु रेफर गरिएको थियो । तर घरको आर्थिक समस्या कमजोर भएका कारण तत्काल काठमाण्डु लैजान नसकेको र शनिबार गृह मन्त्रालयले उद्धार गरिदिएको भन्दै श्रीमान शेरबहादुर रावलले खुशी व्यक्त गरे ।

जिल्ला अस्पताल बाजुराका प्रमुख डा रुपचन्द्र विश्वकर्माका अनुसार ती महिलाको मेरुदण्ड भाँच्चिएकाले बाजुरा अस्पतालमा उपचार हुन नसक्ने बताएका थिए । उनलाई थप उपचारका लागि काठमाण्डु लग्नुपर्ने डा रुपचन्द्र विश्वकर्माले परिवारलाई सल्लाह दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us