कोरोनाले नेपाली अर्थतन्त्रमा गम्भीर असरः अर्थ मन्त्रालय

काठमाण्डु टुडे २०७६ चैत २६ गते २१:५२ मा प्रकाशित

काठमाण्डु, २६ चैत– कोरोना भाइरस (कोभिड–१९) का कारण मुलुकको अर्थतन्त्रमा गम्भीर असर पर्ने देखिएको अर्थ मन्त्रालयले जनाएको छ ।

कोरोनाले पर्यटन र वैदेशिक रोजगारीबाट भित्रने बिप्रेषण ठप्प भएको तथा राजश्व नउठेका कारण अर्थतन्त्र कमजोर हुन विश्लेषण अर्थको छ । मन्त्रालयले बुधबार प्रकाशित गरेको समीक्षा बुलेटिनमा चैतपछि पर्यटन क्षेत्र ठप्प भएको, वैदेशिक रोजगार बन्द भएको, व्यवसाय र ठूला आयोजनाको निर्माणकार्य प्रभावित भएकाले अर्थतन्त्रमा नकारात्मक असर परेको उल्लेख छ ।

तर, फागुन मसान्तसम्मको अवस्था भने सन्तोषजनक रहेको दाबी मन्त्रालयको छ । ‘कुल सरकारी खर्च लक्ष्यअनुसार हुन नसके पनि अघिल्लो वर्षको तुलनामा माथि नै छ । आयातबाट हुने भन्सार राजस्वमा कमी आए पनि समग्र राजस्व संकलन फागुन मसान्तसम्म सन्तोषजनक देखिन्छ’, बुलेटिनमा भनिएको छ ।

तर, व्यापार घाटा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा घटेको, वैदेशिक सहायतामा वृद्धि भएकाले अर्थतन्त्रमा त्यसको सकारात्मक असर पर्ने दाबी मन्त्रालयको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us