काठमाण्डु,२फागुन–सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पाले अन्तिम खेलमा न्यू रोड टिम (एनआरटी) लाई २–१ ले हराएको छ।
अन्तिम खेलको जितसँगै १४ अंकसहित हिमालयन शेर्पाले १०औँ स्थानमा लिग टुंग्याएको छ। १३ खेलमा १५ अंक रहेको एनआरटी लिग तालिकामा नवौँ स्थानमा रह्यो।
खेलमा ३१औँ मिनेटमा एनआरटीका राजेश परियारले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर, त्यसको १० मिनेटपछि हिमालयन शेर्पाका स्टेफेन समिरले बराबरी गोल गरे। पहिलो हाफकै अन्तिम समयमा त्रिदेव गुरुङको गोलमा हिमालयन शेर्पाले अग्रता बनाएको थियो। दोस्रो हाफमा कुनै गोल नहुँदा खेल २–१ मा सकिएको हो।
लिगमा अब तीन खेल मात्रै बाँकी छन्। जसमा शुक्रबार नै थ्री स्टार क्लब र च्यासल युथ क्लब साथै जावलाखेल युथ क्लब र मनाङ मर्स्याङ्दी क्लब खेल्नेछन्।
लिगको अन्तिम खेलमा शनिबार दिउँसो साढे १ बजे मछिन्द्र र त्रिभुवन आर्मी क्लब खेल्नेछन्।